अध्येता स्व. रायस डेविड्स्को यो अभिव्यक्ति भगवान् बुद्धको विषयमा प्रस्तुत भएको सबभन्दा भ्रामक सूचना मध्येको एक हो । यस अभिव्यक्तिमा दुई त्रुटिहरू छन् – पहिलो, हिन्दू वा हिन्दूधर्म भन्ने शब्द नै पछि मात्र चलनमा आएको हो जुन बुद्धकालमा अस्तित्वमै थिएन । वैदिक प्रणालीमा विश्वास राख्ने अर्थात् यसभित्रका मत वा षड्दर्शनलाई अँगाल्नेहरूले आधुनिक कालभन्दा अगाडिसम्म आफूलाई चिनाउनको लागि यस शब्दको प्रयोग कहिल्यै गरेनन् । आरम्भमा विशेषगरी मुसलमानजस्ता विदेशीहरूले सिन्धु नदीपारि बस्ने गैरमुसलमानहरूलाई जनाउनको लागि हिन्दू शब्द चलनमा ल्याएका थिए । तथापि ब्रिटिश औपनिवेशिक अधिकारीहरूले हिन्दू र मुसलमानलाई दुई फरक धार्मिक समुदायमा बाँड्ने क्रममा र प्रशासनिक प्रयोजनको लागि यो शब्दले औपचारिक वा कानूनी मान्यता पायो । थियोसोफिकल सोसायटीका संस्थापक सदस्य एनी बेसन्टले सन् १८८९ मा वाराणसीमा केन्द्रीय हिन्दू महाविद्यालयको स्थापना गरिन् र सन् १९१० मा अन्य हिन्दू अध्येताहरूसँग मिलेर “सनातन धर्म: एन् एलिमेन्ट्री टेक्स्टबुक् अफ् हिन्दू रिलिजन् एण्ड इथिक्स्” भन्ने किताब लेखिन् जसले हिन्दू शब्दलाई त्यसअघिको प्रशासनिक शब्दावलीभन्दा फरक परिचय दियो – यस शब्दले धार्मिक आवरण पनि ग्रहण गर्यो र त्यसपछि भारतवर्षको वैदिक परम्परामा विश्वास राख्नेहरूलाई यसै शब्दबाट चिन्न थालियो । आज आएर यस शब्दको प्रयोग वैदिक धारासँगै जन्मिएका र हजारौं वर्षको अवधिमा प्राचीन भारतवर्षमा रहेका अन्यान्य धार्मिक सिद्धान्त र अभ्यासहरूलाई आफूमा समाहित गर्दै आएका धार्मिक मतहरूको समष्टिगत रुपलाई चिनाउनको लागि गरिन्छ । यसर्थ बुद्धको कालमा न हिन्दू भन्ने शब्द थियो न त हिन्दूधर्म नै; त्यस बेला वैदिक ब्राह्मणवाद मात्र थियो ।
अब यसैको दोस्रो विषय – “बुद्ध वैदिक ब्राह्मणवादको अभ्यास गर्ने परिवारमा जन्मिएका थिए र उनले वैदिक ग्रन्थहरूमा लेखिएका कुराहरू नै सिकाउन थालेका हुन् ।” पाली ग्रन्थ (थेरवाद), चिनिया भाषामा अनुदित सर्वास्तिवादी आगमहरू तथा विभिन्न महायानसूत्रहरूमा संग्रह गरिएका बुद्ध शिक्षाहरूले सर्वथा फरक कुरा दर्शाउँछ । यस अनुसार सिद्धार्थ गौतम कट्टर वैदिक अभ्यास गर्ने कुलका हुनुहुन्नथ्यो; न नै त्यस कुलले वैदिक आचार संहिताहरू नै पालना गर्थ्यो जुन पछि मनुस्मृतिजस्ता ग्रन्थहरूमा सूत्रबद्ध भए । शाक्यवंश वैदिक प्रभावबाट बाहिर थियो भन्ने कुरा बौद्ध र वैदिक दुवै स्रोतहरूबाट जान्न सकिन्छ । यस क्षेत्रमा वैदिक वर्णव्यवस्थाबाट पतन भएका मिश्रित वर्णशंकर समुदायको बसोबास थियो भनेर मनुस्मृतिको दशौं अध्यायमा उल्लेख गरिएको छ । यस कुरालाई अम्बट्ठ सुत्त जस्तो बौद्ध साहित्यले पनि पुष्टि गरेको छ जसमा वैदिक शिक्षामा पारंगत अम्बट्ठ नाम गरेका एक ब्राह्मणले बुद्धकहाँ आएर “शाक्यहरूले ब्राह्मणहरूलाई यथोचित आदर गर्दैनन्” भनी गुनासो गरेको उल्लेख छ । शाक्यहरू “असभ्य, निम्छरो र कटुवाणीयुक्त छन्” भनेर त्यहाँ भनिएको पाइन्छ । यसर्थ वैदिक हिन्दू प्रणालीभित्र आजभोलि पाइने अभ्यासको दृष्टिकोणबाट हेर्ने हो भने बुद्ध कुनै वैदिक कुलमा जन्मिएका थिए भन्ने कुरामा कुनै तुक भेटिँदैन ।
तथापि भगवान् बुद्धले आफू क्षत्रीय भएको बताउनुभएको छ – यस सन्दर्भमा समाजका वर्गहरूको विकासक्रमका सन्दर्भमा भगवान् बुद्धको अवधारणा के थियो भन्ने विषयलाई केलाउनुपर्ने हुन्छ । उत्पत्ति सम्बन्धी बौद्ध सिद्धान्त प्रस्तुत गर्ने अगञ्ञ सुत्तमा समाजमा यी चारवर्गहरूको उत्पत्ति कसरी भएको थियो भन्ने कुराको वर्णन गरिएको छ । यस अनुसार वर्ग कुनै जन्मको आधारमा वा कुनै लिखित व्यवस्था वा ग्रन्थको आधारमा नभई पूर्णतया आवश्यकता र पेशागत आधारमा बनेको थियो । यस सुत्तमा भगवान् बुद्धले बताएअनुसार कानून र व्यवस्था कायम राख्न मानिसहरूले मानिसहरूकै लागि “पहिलो राजाको” रूपमा “महासम्मत”लाई छनोट गरेका थिए । यो मानव जगतमा प्रथम पटक प्रतिपादित “क्षत्रीय वर्ग” को अवधारणा थियो जुन जन्ममा नभई व्यक्तिको गुण र पेशामा आधारित थियो । महावंशजस्ता बौद्ध ग्रन्थहरूमा शाक्यवंश यिनै प्रथम राजाका सन्ततिहरू हुन् भनिएको छ र ती पहिलो राजा “महासम्मत” बोधिसत्त्व थिए । फेरि भगवान् बुद्ध भन्नुहुन्छ – तिनीहरूमध्ये केही मानिस सात्विक र शुद्ध जीवनशैली अपनाई आफूलाई मानव समाजको वृत्तभन्दा बाहिर राख्नेहरू पनि थिए । उनीहरू जंगलमा निवास गर्न र दिनरात ध्यानमा रहन रुचाउँथे । तिनीहरूलाई नै “ब्राह्मण” भनियो । केही यस्ता सुत्तहरू छन् जसमा भगवान् बुद्धले त्यस्ता ब्राह्मण तथा उनीहरूको अभ्यासको प्रशंसा गरेको उल्लेख छ । यसै अनुरूप उहाँले आफूलाई “क्षत्रीय” भन्नुभएको थियो । जन्मको आधारमा बनाइएको जातव्यवस्था वा वैदिक ग्रन्थमा भनिएजस्तै कुनै आदिपुरुष (ऋग्वेदको पुरुषसुक्तमा उल्लेख भएअनुसार) वा ब्रह्माको शरीरको अङ्गबाट उत्पत्ति भए अनुसारको जातव्यवस्थालाई भगवान् बुद्धले कहिल्यै स्वीकार गर्नुभएन ।
बुद्ध भर्इ उपदेश दिन शुरू गरेपछि वैदिक सिद्धान्त र अभ्यासको विषयमा उहाँको कस्तो दृष्टि रह्यो भन्ने कुरा पनि अत्यन्त महत्त्वपूर्ण छ । बुद्धकालमा रचित बौद्ध ग्रन्थ तथा पछिका वैदिक स्रोतहरूले रायस डेविड्स्को दावीलाई खण्डन गर्छन् । भगवान बुद्धले वैदिक सत्तालाई पूर्णतया अस्वीकार गर्नुभयो र यसको अभ्यासले मोक्ष प्राप्तिमा सघाउ पुर्याउँछ भन्ने मान्यताप्रति उहाँ सँधै असहमत रहनुभयो । यस विषयमा उहाँले गरेको आलोचना मानिसले सोच्ने हदभन्दा बढी नै कडा हुने गरेको पाइन्छ – तेविज्ज सुत्त र चंकी सुत्त जस्ता उपदेशहरूमा उहाँले वैदिक अभ्यासको अनुसरण गर्नेहरूलाई “अन्धाहरूको लाम” भन्ने संज्ञा दिनुभएको छ । अर्को सन्दर्भमा उहाँले वैदिक अनुष्ठानहरूलाई निरर्थक बताउनुभएको छ ।
भगवान् बुद्धले अस्वीकार गरेका विभिन्न अभ्यासहरूमध्ये त्यसबेला प्रचलित प्रमुख अभ्यास भनेको बृहत् कर्मकाण्ड सहितको पशुबलि प्रथा एक थियो । तर उहाँको सबभन्दा ठूलो दार्शनिक आलोचना भनेको वैदिक शिक्षामा कूटस्थ र अपरिवर्तनशील तत्त्व भनिएको ‘आत्मा’ को विषयमा थियो । उहाँका धेरैजसो देशनाहरूमा त्यस्तो कूटस्थ, अपरिवर्तनशील र स्वतन्त्र अस्तित्वयुक्त भनिएको ‘आत्मा’ लार्इ अस्वीकार मात्र होइन, त्यसको भरभग्दुर खण्डन समेत पाइन्छ । भगवान् बुद्धले अफ्ना मूल उपदेशका रूपमा प्रतीत्यसमुत्पादको सिद्धान्तमा आधारित ‘अनात्मा’ सम्बन्धी दृष्टि अघि सार्नुभएको छ । यस आधारमा उहाँले वैदिक प्रणालीको कर्मकाण्ड र ज्ञानकाण्ड दुवैलाई अस्वीकार गर्नुभएको थियो भनी हामी बुझ्न सक्छौँ । भगवान् बुद्धले प्रस्तुत गरेका यिनै आलोचनाहरूका कारण वैदिक प्रणालीले उहाँका शिक्षाहरूलाई ‘नास्तिक’ धर्म भनी संज्ञा दिए । यस्तै कतिपय षड्दर्शनका गुरुहरूले उहाँको ‘अनात्मा’ को शिक्षालार्इ खण्डन गर्ने प्रयास पनि गरे । यहाँ द्रष्टव्य के छ भने वैदिक प्रणाली सम्बन्धी भगवान् बुद्धले गर्ने आलोचना षड्दर्शनका बीचमा रहेका केही फरक विचारहरू वा वेदको विरोधाभासपूर्ण शिक्षा सम्बन्धी स्पष्टीकरण जस्तो मात्र नभर्इ समग्र वैदिक प्रणालीको शिक्षामाथि नै असहमति हो । यस प्रकारले समग्र प्रामाणिक बौद्ध परम्पराले भगवान् बुद्धको दृष्टिलाई आरम्भदेखि बुझ्दै आएको छ ।
तसर्थ “बुद्ध जन्मले हिन्दू थिए र मर्दा पनि हिन्दू नै भएर मरे” भन्ने कुरा सर्वथा भ्रामक छ ।