बुद्धधर्म हिन्दुधर्मको शाखा होइन

बौद्ध धर्ममा प्रतीत्यसमुत्पादको धर्म भन्नाले के बुझिन्छ र यो शून्यतासँग कसरी जोडिएको छ?

Posted मार्च 26, 2024 03:04:18 दिउँसो

वैशाख पूर्णिमाको बिहान बुद्धले बोध गयामा बोधिवृक्ष मुनि बसेर बोध गर्नु भएको धर्म यही हो ।  यो बुद्ध धर्मको प्रमुख सिद्धान्त हो र यसैले बुद्ध धर्मलाई अन्य सबै धार्मिक प्रणालीहरूबाट अलग पार्दछ (छुट्याउँछ) ।  यसलाई संस्कृतमा प्रतीत्यसमुत्पाद र पालीमा पटीच्चसमुप्पाद भनिन्छ। वास्तवमा, यो धेरै सरल कुरा (सिद्धान्त) हो, तर यसको सरलताकै कारण, हाम्रो जटिल-अभिसंस्कृत मनले यसलाई धेरै जटिलरूपमा देख्न पुग्छ । यसको सरल अर्थ सबै बस्तु वा धर्महरू हेतु र प्रत्ययहरू जुटेर उत्पन्न हुने हुन्छ र यी हेतु-प्रत्ययहरू आफै पनि अघिका अन्य हेतु-प्रत्ययहरूबाट उत्पन्न हुन्छन् र तिनीहरू त्यसै गरी अघिका हेतु-प्रत्ययहरू हुँदै अनादि काल सम्म जान्छन्  र अनन्त कालसम्म जारी रहन्छन् । हामीलाई देखापर्ने हरेक बस्तु(धर्म)हरू, उपयुक्त हेतु-प्रत्ययहरू जुटेरै मात्र  प्रकट हुने हुन्छन् ।

यो संसार हेतु-प्रत्ययहरूको एक अनादि (सुरुवातको विन्दु नभएको) र परिवर्तनशील प्रवाह हो जसलाई संस्कृतमा हेतु-फल प्रवाह भनिन्छ ।  पदार्थ वा समयको सबैभन्दा सानो एकाइ देखि लिएर त्रिसहस्र महासहस्र लोकधातु (यो महायान र थेरवाद बौद्ध धर्मको लोकधातु (ब्रह्माण्ड)को उपदेशमा पाइने अवधारणा हो , जसमा एउटा लोकधातु (ब्रह्माण्ड) तीन हजार लोक-प्राणालीहरू मिलेर बनेको हुन्छ र हरेक लोक-प्राणाली, हजारौं संसार (लोक)हरू मिलेर बनेको हुन्छ भनिएको छ ।) सम्म पनि हेतु-प्रत्यय मार्फत नै उत्पन्न हुन्छन् वा अझ सही रूपमा भन्नु पर्दा, उत्पन्न भएको देखिन्छ । यो नियम, धारणा\विचार र अमूर्त वस्तुहरूमा पनि लागू हुन्छ ।

एउटा घर भनेको इँटा, माटो, त्यसको डिजाइन, काठ, सिसा, सिमेन्ट, टिन, टाईल्स, सिकर्मी, मिस्त्री (डकर्मी) र इन्जिनियर आदिको संयोजन जस्ता हेतु-प्रत्ययहरूको सङ्ग्रह मात्र हो ।   तर यी हरेक हेतु र प्रत्ययहरू पनि तिनीहरूका आ-आफ्ना हेतु-प्रत्यय आदिका कारण उत्पन्न हुन्छन् । इँटा वा माटो (हेतु इत्यादि) वा मिस्त्री इत्यादि नभएको खण्डमा घर खडा हुन वा देखा पर्न सक्दैन ।  तर इँटा भनेको घर होइन, टिन वा माटो वा सिमेन्ट वा काठ, सिसा आदि पनि घर होइनन् । सबैलाई एक–एक गरेर निकाल्नुभयो भने त्यहाँ घर पनि हुँदैन ।  त्यसैले, त्यो प्रतीत्यसमुत्पन्न (विभिन्न हेतु-प्रत्ययमा निर्भर भएर उत्पन्न भएको) घर वास्तविक अस्तित्वले रहित छ अर्थात् निःस्वभव छ । त्यही निःस्वभवता वा अवास्तविक अस्तित्व-पन (अस्तित्वको अवास्तविकता) लाई बुद्ध धर्ममा शून्यता भनिन्छ ।

तपाईँ बस्नुभएको ठाउँलाई तपाईँले ‘यहाँ’ भन्नुहुन्छ, तर त्यही ठाउँलाई म ‘त्यहाँ’ भन्छु, किनकि तपाईँको ‘यहाँ’ तपाईँ त्यो ठाउँमा हुनुमा भर पर्छ भने उही ठाउँ मेरो लागि ‘त्यहाँ’ हुनु, म त्यो ठाउँमा नहुनुमा भर पर्छ (प्रतीत्यसमुत्पाद) । त्यसैले, वास्तवमै त्यो ठाउँ न त यहाँ हो, न त त्यहाँ हो । अर्को शब्दमा, ‘यहाँ’ को ‘यहाँपन’ र ‘त्यहाँ’को ‘त्यहाँपन’को वास्तविक अस्तित्व छैन, अर्थात् ती निःस्वभाव वा शून्यता लक्षणवाला हुन्  ।  छोटो र लामो, टाढा र नजिक जस्ता धारणा आदि पनि त्यस्तै हुन् । आइन्स्टाइनले भने भैँ, तिनीहरू सबै सापेक्ष हुन् । यो अवधारणा र यसका सबै अर्थहरूको व्याख्या गर्न त धेरै लामो समय लाग्न सक्छ र लेख वा किताबहरूबाट मात्र यो पूर्ण रूपमा बुझ्न सकिँदैन, यसको सहि बुझाइ त एक प्रामाणिक गुरुबाट चरणबद्ध रूपमा सिकेर मात्र संभव छ ।

बौद्ध बोधि भनेको शून्यता वा प्रतीत्यसमुत्पादको अविकल्प बोध हो, धारणात्मक\विकल्पात्मक बुझाइको आधारमा मात्र बोध सम्भव हुन्न ।  तसर्थ, हामीलाई त्यो बोधको मार्गमा मार्गदर्शन गर्न (डोहोर्‍याउन) को लागि एक प्रामाणिक गुरु चाहिन्छ ।  यो किन आवश्यक छ त?  किनकी, हामीलाई दुःख, क्लेश, र कर्मबाट मुक्त गराउने सम्यक् बोधि केवल लेख वा किताबहरूबाट प्राप्त गर्न सकिँदैन ।

प्रत्यक्ष बोध बिना, आफ्नो ग्राह, अविद्या र कर्मको बन्धनबाट मुक्त हुन सकिन्न । पहिलो शताब्दीका महान् ब्राह्मण बौद्ध गुरु, नागार्जुनले आफ्नो उत्कृष्ट रचना, मध्यमकशास्त्र (मूलमध्यमककारिका)मा उल्लेख गरे अनुसार:

कर्मक्लेशक्षयान् मोक्षः कर्मक्लेशा विकल्पतः ।
ते प्रपञ्चात् प्रपञ्चस् तु शून्यतायां निरुध्यते ।।१८।५।।

अर्थात्, जब कर्म र क्लेश नष्ट हुन्छन्, तब मुक्ति वा बोध साक्षात्कार हुन्छ ।  ती कर्म र क्लेशहरू विकल्पबाट उत्पन्न हुन्छन् र विकल्प भने प्रपञ्चबाट उत्पन्न हुने हुन्छ र यो प्रपञ्च शून्यतामा निरोध (समाप्त) हुन्छ ।

त्यसैले, बुद्ध धर्म (विशेष गरी महायान बौद्ध धर्म) अनुसार शून्यताको प्रत्यक्ष अविकल्प अनुभूतिलाई मात्र बोध वा ज्ञान भनिन्छ । आफूलाई स्वतन्त्र भएको विश्वास गर्नु वा वर्तमान क्षणमा उपस्थित हुनु वा होस्\जागरूकतामा रहि रहनु आफैमा बोध होइन । ती बोध वा ज्ञानका पक्षहरू मात्र हुन् तर आफैमा बोधि भने होइनन् ।

यी सबै कुराहरू आफू एक्लैले आफ्नै हिसाबले गर्न त सकिन्छ तर सम्यक् बोधि भनेको केवल यस्ता कुराको अनुभूति हुनु मात्र होइनन् र कर्म, क्लेश र आफूलाई मेलोमेसो(भान\हेक्का)सम्म पनि नभएको तर आफूमा बलियो जरा गाडेर बसेको अविद्याले भरिएका व्यक्तिले आफू खुसी यस्ता अभ्यासहरू गरेर प्राप्त गर्न संभव पनि हुँदैन । अनादि अविद्या भन्ने कुरा, आफू पहिलेदेखि नै मुक्त छु भन्ने विचार गरेर वा वर्तमानमा उपस्थित भएर वा होसपूर्ण भएर हट्ने कुरा होइन ।यो कुरा, दिसामा लतपत हातको दुर्गन्ध, मेरो हात गनाइ रहेको छैन भन्दैमा, सोच्दैमा, वा विश्वास गर्दैमा वा आफ्नो हातको होस् राख्दैमा गनाउन छोड्दैन, भने झैं हो ।  यद्यपि, यी सबै कुराहरू मार्गका अभिन्न अंगहरू हुन् ।

हुन त हरेक मानिस बोध, बुद्धत्व वा ज्ञान प्राप्तिको अवस्थालाई आफ्नो हिसाबले परिभाषित गर्न स्वतन्त्र छ, तर बुद्धका अनुसार बोधि वा बुद्धता भनेको त्यो होइन, न त हजारौं वर्ष देखि अटुट रूपमा प्रसारित हुँदै आएको हजारौं-हजार ज्ञानलाभी बौद्ध गुरुहरूको शुद्ध सिद्ध परम्पराले नै त्यस्ता अनुभवहरूलाई बुद्धत्व मान्दछ ।  शुद्ध सिद्ध परम्परा अन्तर्गतको सम्यक् (सही) बौद्ध मार्गले हजारौं वर्षदेखि हरेक पुस्तामा प्रशस्त ज्ञानलाभी (ज्ञान लाभ गरेका व्यक्ति)हरू उत्पाद गर्दै आइरहेको छ र बौद्ध धर्ममा धर्मको अर्थ यही नै हो ।  यो एक प्रमाणित राजमार्ग\बाटो हो, जुन आजकलका केही मानिसहरूले बोध र बुद्धत्वलाई लिएर गढेको धारणाहरूमा आधारित नव युगे-पद्धतिहरू जस्तो होइन । यस्ता पद्धतिले मानिसहरूलाई वास्तविक बोध दिलाउन नसक्ने भएकोले एक-दुई पुस्तामै यी परम्पराहरू लोप भएर जाने गर्छन् ।  विशेषगरी, भारतीय उपमहाद्वीपमा शताब्दीयौं देखि यस्तो कुरा हुँदै आइरहेको छ (यस्ता च्याऊ परम्पराहरू उदाउँदै र लोप हुँदै आइरहेका छन्) ।

 एक बुद्ध पुरूष (बोध लाभ गरेका व्यक्ति) वर्तमान क्षणमा वा होस्‌पूर्ण रहे झैं तपाईं पनि वर्तमान क्षणमा रहन हुन्छ वा आफ्नो होसलाई निरन्तर कायम राख सक्ने भए तापनि तपाईँलाई बोध लाभ नहुन सक्छ भन्ने कुरा राम्रो बुझ्नु जरुरी छ । साथै, बुद्धले मिथ्या दृष्टि (गलत आध्यात्मिक परम्परा) तथा मिथ्या समाधि (गलत ध्यान पद्धति) हरू पनि हुन्छन् भन्नुभएको छ । सम्यक्संबुद्ध शब्दको अर्थ नै पूर्ण रूपमा, सबै प्रकारले र सही रूपमा (सम्यक् रूपमा) बुद्धत्व लाभ गरेको भनिएको हो, जसले गलत (असम्यक्) बुद्धत्वको सम्भावनाहरूलाई पनि दर्साउँछ ।  अर्थात्, त्यस्ता अवस्थाहरू पनि छन् जहाँ ज्ञान वा बुद्धत्व लाभ गरेको भ्रान्ति हुन सक्छ । मनलाई क्लेश र अविद्याको बन्धनबाट मुक्त नगरी ज्ञान प्राप्त गर्न सकिँदैन र यी कुराहरू गुफाको साधारण अन्धकार जस्ता पनि  होइनन् जसलाई क्षण भरमै दियो बालेर हटाउन सकियोस् (यो पूर्णतया गलत उपमाको उदाहरण हो)। क्लेश र अविद्याको बन्धन हातमा लागेको दिसा जस्तै हो जसलाई साबुन आदिले राम्ररी धुनु पर्छ, त्यहाँ सहज ज्ञान वा तात्कालिक बोधि जस्तो कुनै कुरा संभव छैन । बोधिको लागि व्यक्तिले बुद्ध र वहाँको उपदेशमा आधारित सम्यक् मार्ग अनुसार अभ्यास गरेको हुनुपर्छ । 

तर मानिसहरू चित्तका विभिन्न अवस्थाहरूलाई नै ज्ञान वा बोधिको रूपमा कल्पना गर्न स्वतन्त्र छन् । तर त्यस्ता धारणालाई लिएर बुद्धले भन्नुभएको बुद्धत्व पनि त्यही नै हो भनेर भ्रमित नहुनु होला । कमसेकम, बोध लाभ गरेको दाबी गर्ने व्यक्तिमा त्यति स्पष्टता त हुनैपर्छ ।  अर्थात् बोध भनेको प्रतीत्यसमुत्पाद वा शून्यता र तिनिहरूले इङ्गित गरेको सबै कुरा (धर्महरू) को यथार्थताको बोध हो ।

प्रतिक्रिया दिनुहोस्

पछिल्ला आलेख

वर्गहरु

शीर्ष आलेख

बुद्धको विषयमा रहेका प्रमुख भ्रम वा अपव्याख्याहरु

साताको विचार

मुख्य आलेख

भिडियोहरू

बुद्ध धर्म

मिजिन कुरुम

लेखकहरु

Admin