बुद्धधर्म हिन्दुधर्मको शाखा होइन

हाम्रो बारेमा

यो पेज बुद्धधर्म र हिन्दूधर्म बीचको भिन्नताका विषयमा सचेतना फैलाउने उद्देश्यले निर्माण गरिएको शुद्धसिद्ध बौद्ध परम्पराका बौद्धाभ्यासी तथा अध्येताहरूको मानसपुत्र हो । ‘हिन्दूधर्म’ – यो शब्द वैदिकधर्म परम्परा तथा दर्शनहरूलाई जनाउनका लागि पछिल्लो समयमा मात्र प्रचलनमा ल्याइएको एक अनैतिहासिक शब्द हो जसलाई ‘सनातन धर्म’ वा अंग्रेजीमा ‘ब्राह्मनिज्म’ समेतको नामले चिनिन्छ । बुद्धधर्म एक मौलिक आध्यात्मिक परम्परा होइन भन्ने मिथ्या धारणा र अपव्याख्या विशेषतः नेपाल र भारतमा व्यापक रहेको छ । यो हिन्दूधर्मकै एक शाखा मात्र हो भनी मान्ने गरिन्छ । बुद्धले उपनिषद् आदि वैदिक–हिन्दू ग्रन्थहरूमा पाइने शिक्षालाई फरक ढाँचामा मात्र सिकाएको हो वा बुद्ध विष्णु आदि जस्ता कुनै देवताको एक अवतार हो भन्ने विश्वास गरिन्छ । यस प्रकारको मिथ्या धारणा र मिथकहरू सिर्जना हुनुमा केही कारकहरू छन् जुन ऐतिहासिक तथा दार्शनिक दृष्टिकोणबाट पूर्णतया असत्य र आधारहीन छन् । बुद्ध स्वयंले यो पहिले कहिल्यै नसुनिएको एक पृथक मार्ग हो भनी बताएअनुसार, बौद्ध ग्रन्थ (आगमहरू) को उल्लेख र जीवन्त शुद्ध सिद्ध बौद्ध परम्पराका आधारमा ती प्रचलित मिथ्या धारणाहरूलाई स्पष्ट पार्न यस वेभसाइटले जमर्को गरेको छ । बुद्ध स्वयंले आफ्ना उपदेशहरूमा स्पष्ट पारेका तथा शुद्ध सिद्ध प्रामाणिक बौद्ध परम्पराबाट निसृत सही दृष्टि र अभ्याससम्बन्धी सामग्रीहरू यस पेजमार्फत् प्रकाशमा ल्याउन हामी पूर्ण प्रयत्नरत रहनेछौं ।

साथैहामी निम्न कुराहरू स्पष्ट पार्न चाहन्छौं –

१.       हामी कुनै राजनैतिक समूह वा पहिचान बचाउ अभियानका सामाजिक अभियन्ता होइनौं । कुनै समुदाय वा बौद्ध सम्प्रदायको नयाँ पहिचान स्थापित गर्ने पनि हाम्रो उद्देश्य होइन । हामी परम्परामा आधारित बौद्धाभ्यासी तथा अन्वेषकहरू हौं । यस वेभसाइटमा सम्प्रेषण गरिने बौद्धिक सामग्री तथा अन्तर्क्रियाहरू बुद्धधर्म सम्बन्धी गलत बुझाइहरूलाई हटाउन र बौद्ध सिद्धान्त र अभ्यासको मौलिकताको सम्बन्धमा स्पष्टता ल्याउन उपयोगी हुनेछ भनी अपेक्षा लिएका छौं । 

२. हाम्रो उद्देश्य यस वेभसाइटमार्फत् वैदिक हिन्दू तथा बौद्ध दुवैका बीचमा आपसी सौहार्द्रताको आधारमा आ-आफ्नो आध्यात्मिक परम्पराहरूको विशिष्टतालाई बुझ्नको लागि स्वस्थ बौद्धिक/प्राज्ञिक संवादलाई प्रश्रय दिनु हो ।

३. यस कार्यको प्रेरणा प्राचीन भारतको आध्यात्मिक परम्परा संस्कृतिबाट प्राप्त भएको हो जसमा आफ्नो दार्शनिक विचारहरूको विषयमा खुला संवाद गर्न मानिसहरूलाई प्रेरित गरिन्थ्यो जसले गर्दा तत्त्वज्ञान प्रकट हुन सकोस् । यस परम्परा/संस्कृतिको लक्ष्य मानिसहरूले भारतीय आध्यात्मिक परम्पराहरूको बीचमा रहेका भिन्नताहरूलाई राम्ररी बुझून् र त्यसकै आधारमा आफ्नो लागि सर्वश्रेष्ठ विधिको चयन गरी सर्वोच्च पुरुषार्थ अर्थात् मोक्ष प्राप्त गर्न सकून् भन्ने नै हो ।

४. हाम्रो उद्देश्य वैदिक हिन्दू धर्म, यसभित्रका देवीदेवता, अन्य कुनै मत वा धर्म तथा कुनै गुरुको आलोचना गर्नु होइन । बौद्ध अवधारणालाई प्रस्तुत गर्नु एवं बुद्ध तथा उनका उपदेशहरूको विषयमा रहेका भ्रम र गलत बुझाइहरूलाई प्रष्ट पार्नु हाम्रो उद्देश्य हो ।