यो एक जटिल विषय हो जसलाई बुझ्नका लागि यी दुई धर्महरू र भारतीय उप–महाद्वीपमा यिनीहरूको विकासक्रमको इतिहासको संबन्धमा गहिरो तहमा बुझ्नु आवश्यक हुन्छ । भारतीय उप–महाद्वीपमा यस भ्रम वा गलत अवधारणा कसरी स्थापित हुन पुग्यो भनी बुझ्न निम्नानुसार तीन कोणबाट हेरिनुपर्छ – ऐतिहासिक, दार्शनिक र सांस्कृतिक ।
ऐतिहासिक कारण
क) वैदिक हिन्दू धर्मानुयायीको भगवान् बुद्ध र बुद्धधर्म प्रतिको वैमनस्यता – बौद्ध र वैदिक-हिन्दू साहित्य दुवै भगवान् बुद्ध र बुद्धधर्मप्रति वैदिक हिन्दूधर्मका अनुयायीहरूले राख्ने गरेको वैमनस्यताका प्रमाणहरूका साक्षी हुन् । प्राचीन भारतवर्षमा डढेलो जस्तै फैलिएको बुद्धधर्मलार्इ दबाउन वैदिक हिन्दू धर्मानुयायीहरूले अनेक प्रयास गरे । भगवान् बुद्धले वैदिक-हिन्दू परम्परा र यसका सिद्धान्तहरूको खण्डन गर्नुभएको र यसभित्रको जातिगत वर्णाश्रम धर्मलाई पूर्णतया अस्वीकार गर्नुभएका कारण वैदिक हिन्दूधर्मको लोकप्रियतामा ठूलो आँच आएको थियो ।
ख) बुद्धधर्ममाथिको प्रहार – माथिको कारणले गर्दा प्राचीन भारतवर्षमा वैदिक हिन्दूधर्मका गुरु तथा राजाहरूबाट बुद्धधर्ममाथि बारम्बार प्रहार भइरह्यो ।
ग) दुष्प्रचार – बुद्धधर्मलाई निस्तेज पार्नका लागि गरिएको प्रहार र दमनका अतिरिक्त सर्वसाधारणमा बुद्धधर्म प्रतिको लोकप्रियता घटाउन वैदिक हिन्दू अनुयायीहरूले भगवान् बुद्ध र बुद्धधर्मको विषयमा अनेकौं दुष्प्रचार गर्ने एक अर्को चाल पनि चाले । दोस्रो–तेस्रो शताब्दीतिर प्राचीन भारतवर्षमा भगवान् बुद्धलाई विष्णुको अवतारका रूपमा प्रस्तुत गर्नु एउटा त्यस्तो कुटिल चाल थियो जसले बुद्धधर्मलाई धूमिल पार्न र अन्ततोगत्वा भगवान् बुद्ध र बुद्धधर्मलाई वैदिक हिन्दूको आवरणभित्र खुम्च्याउन सघायो ।
घ) बुद्धधर्मको पतन – वैदिक हिन्दूहरूबाट भएको उत्पीडन र एघारौँ–बाह्रौँ शताब्दीतिर नालन्दा, विक्रमशील जस्ता महान् बौद्ध विश्वविद्यालयहरू ध्वस्त हुनेगरी भएको मुसलमानी आक्रमणको कारणले भारतीय उपमहाद्वीपमा बुद्धधर्म बिस्तारै क्षीण हुन थाल्यो ।
दार्शनिक कारण
क) बुद्धधर्म बुझ्न गाह्रो छ – बुद्धधर्मका सिद्धान्तहरू सूक्ष्म र गहिरा हुन्छन् । साधारणतया एउटा कट्टर ईश्वरवादी पृष्ठभूमिबाट आएको वा आत्मा/ब्रह्म जस्ता शाश्वत् चिन्तनलाई अँगाल्ने व्यक्तिहरूको लागि यो झट्ट बुझ्न गाह्रो नै पर्छ । बुद्धधर्मलाई गलत तरिकाले बुझ्ने वैदिक-हिन्दूहरूले मूल बौद्ध सिद्धान्त अर्थात् सत्य सम्बन्धी बौद्ध अवधारणा, विशेषगरी “प्रतीत्यसमुत्पाद” आदिलार्इ वेवास्ता र हेलचक्रयाँई गर्ने गरेको पाइन्छ ।
ख) उपर्युक्त कारणले कैयौं वैदिक हिन्दू विद्वान्, पण्डित, बाबा आदिले बुद्धधर्मको विषयमा गलत अर्थ लगाउने र आफ्नै कल्पनामा आधारित अपव्याख्या मार्फत् भ्रमको खेती गर्दै आएका छन् । यसले गर्दा वैदिक-हिन्दू अनुयायीहरूमाझ विकृत बुद्धधर्मको प्रचार हुन गयो । बाह्रौँ शताब्दीतिर भारतवर्षबाट बुद्धधर्मको लोप भएपछि त्यस्ता भ्रमहरूलाई चिर्ने बौद्ध कोही उपलब्ध भएन ।
ग) “एकंसत् विप्रा बहुधा वदन्ति” अर्थात् “सत्य एउटै छ तर ज्ञानीले त्यसलाई विविध प्रकारले व्यक्त गर्दछ” भन्ने जस्ता केही वैदिक उक्तिहरूमा टेक्दै वैदिक-हिन्दूधर्मले समावेशीवाद, सारसंग्रहवाद आदिलाई प्रश्रय दिन्छ । आफ्नो वैदिक-हिन्दू परम्परामा यत्रतत्र भेटिने विरोधाभास र असामञ्जस्यपूर्ण कुराहरूलाई स्वीकार गर्दै गर्दा उनीहरूले बुद्धधर्मप्रति पनि त्यही दृष्टिकोण राख्न थाले र बुद्धधर्मलाई पनि वैदिक-हिन्दूधर्मकै एक विद्रोही धारको शाखाको रूपमा लिन थाले । त्यस्तो गलत आधारमाथि अडेको उनीहरूको बुझाइ नै बुद्धधर्मलाई यथार्थ स्वरूपमा बुझ्नका लागि बाधा हुन पुग्यो । विशेषगरी बुद्धधर्म भारतवर्षबाट लोप भइसके पश्चात् वैदिक-हिन्दूधर्मले बुद्धधर्मलाई आफ्नो परिधिमा समाहित गर्ने थुप्रै प्रयास नगरेको होइन । आफ्नो मूल सिद्धान्तभन्दा विपरीत रहेका धर्महरूलाई पनि आफूमा समाहित गर्न सक्नुलाई वैदिक हिन्दूधर्ममा सकारात्मक उपलब्धि मानिन्छ ।
घ) वैदिक-हिन्दूधर्म र बुद्धधर्म दुवैले संस्कृतजस्तो उस्तै भाषासमूहको प्रयोग गर्ने भएकाले पनि बुद्धधर्मको विषयमा धेरै भ्रम सृजना भएको देखिन्छ (तथापि बौद्ध साहित्यमा प्रयोग हुने संस्कृत वैदिक संस्कृतको कोटिमा पर्दैन) । बौद्धसंस्कृत संस्कृत भाषाको छुट्टै कोटि हो भन्ने कुरा वैदिक हिन्दूहरूले बुझ्न सकेनन् । त्यसैले वैदिक विद्वान् टीकाकारहरूबाट बौद्ध संस्कृतको गलत अर्थ लगाउने र बौद्ध अवधारणा तथा यसको व्याकरण आदिलाई नबुझी आफ्नै व्याख्या प्रणालीको मात्रै प्रयोग गर्दै गलत धारणाहरू बनाउने काम हुन थाल्यो । तसर्थ बुद्धका उपदेशहरू विकृत रूपमा प्रस्तुत हुन पुगे ।
सांस्कृतिक/सामाजिक/राजनैतिक कारण
क) एकै क्षेत्र र कालखण्डमा रहेका वैदिक-हिन्दूधर्म र बुद्धधर्म दुवैमा सांस्कृतिक आदानप्रदान हुन गयो । विशेषगरी हिन्दूधर्मले त्यस्ता बौद्ध कुराहरूलाई आफूमा समाहित गर्यो जसको अर्थ लगाउन भारतवर्षबाट बुद्धधर्म लोप भइसकेपछि असंभवप्रायः भइसकेको थियो । त्यसैले यी दुर्इ धर्ममा रहेका मूल सैद्धान्तिक भिन्नताहरू मिल्दाजुल्दा सांस्कृतिक समानताहरूको आवरणद्वारा छोपिन पुग्यो ।
ख) मुसलमानहरूको आक्रमणपछि उनीहरूको धर्मलगायत भारतवर्षमा रहेका अन्य सबै धर्महरूको लागि साझा आधारको आवश्यकता पर्न गयो । तत्कालीन सामाजिक परिस्थितिले ‘सबै धर्म समान हुन्’ वा ‘ती सबैले हामीलाई मानव बन्न प्रेरित गर्छन्’ भन्ने जस्ता सैद्धान्तिक अवधारणाहरूलाई अगाडि ल्यायो । त्यस प्रकारको सामाजिक अभियानले जनमानसमा जरो गाड्न थाल्यो । साधुसन्तहरूले त्यस्तो विषयसँग सम्बन्धित स्तोत्र, गीत तथा कविताहरूको रचना गर्न थाले जसले जनमानसलाई ध्यानाकर्षित गर्न थाल्यो । यसको फलस्वरूप नेपाल र भारतमा भक्ति परम्परा एक प्रमुख आध्यात्मिक संस्कृतिको रूपमा फस्टायो । फलस्वरूप मूल सैद्धान्तिक भिन्नताहरू ओझेलमा पर्न गए ।
ग) मुसलमानी आक्रमण र औपनिवेशीकरणले गर्दा वैदिक-हिन्दूधर्म निस्तेज हुँदै गयो । आध्यात्मिक साहित्यको अध्ययन गर्ने संस्कृतिको पनि क्षय हुँदै गयो । जसको कारण वैदिक-हिन्दूहरूलार्इ भारतीय धर्महरूको विषयमा ठीक जानकारी मिल्न छोड्यो जुन आजसम्म पनि जारी छ ।
घ) औपनिवेशीकरणपछि राष्ट्रियताको भावनाले ओतप्रोत भएर वैदिक-हिन्दूहरूले आफ्नो हराएको गौरवलाई पुनः प्राप्त गर्न आफ्नो भौगोलिक क्षेत्रभित्रका सबै आस्था र मतहरूलाई एकीकरण गरी ‘विशाल भारत’ को निर्माण गर्ने सपना बुन्न थाले । त्यस्तो राजनैतिक र सामाजिक अवस्थामा बुद्धधर्मको विशिष्ट सैद्धान्तिक र आध्यात्मिक परम्परालाई थप उपेक्षा गर्दै अरू विकृति र अपव्याख्याहरू थपिन थाल्यो । हालको हिन्दूत्व अभियान पनि सर्वसाधारणमा ‘बुद्धधर्म एक फरक आध्यात्मिक परम्परा होइन’ भन्ने कुरालाई स्थापित गर्न उद्यत छ ।
ङ) डा. अम्बेडकरले भारतमा रहेको पिछडिएका तथा दलित जातिहरूसँग सम्बन्धित सामाजिक मुद्दालाई अगाडि बढाउन बुद्धधर्मलाई प्रयोग गरेको हुनाले सम्भ्रान्त ब्राह्मण/राजनैतिक नेता/अध्येता आदिका लागि बुद्धधर्मलाई आफ्नो पक्कडमा ल्याउनु अझ आवश्यक पर्न गयो ।
यी यावत् कारणहरूले गर्दा आज नेपाल र भारतमा रहेका हिन्दूहरूलाई बुद्धधर्म वैदिक धर्मको परिधिभन्दा बाहिर रहेको एउटा भिन्न आध्यात्मिक परम्परा हो भन्ने कुरा बुझ्न गार्हो भइरहेको छ ।