- परम्परागत बौद्ध तथा उनीहरूका ग्रन्थ/आगमहरूले भगवान् बुद्ध र बुद्धधर्मलाई कसरी परिभाषित गरेको छ भन्ने कुरा तपाईँले कहिल्यै पढ्नुभएको छ ? वा त्यससंग सम्बन्धित आधिकारिक कुराहरु ?
- आधिकारिक बौद्ध ग्रन्थहरूमा के लेखिएको छ भन्ने कुराको तपाईँलाई ज्ञान छ ?
- तपाईँले एक शुद्धसिद्ध अटुट बौद्ध परम्पराबाट आएको कुनै बौद्ध गुरुसँग कुराकानी गर्नुभएको छ ?
- भगवान् बुद्ध धर्मसम्बन्धी तपाईँको बुझाइ कुनै गैरबौद्ध वैदिक हिन्दू स्रोतहरूबाट आएको हो वा शुद्धसिद्ध बौद्ध स्रोतबाट भन्ने कुरालाई तपाईंले कहिल्यै मनन् गर्नुभएको छ ?
यी प्रश्नहरू भगवान् बुद्ध तथा बुद्धधर्म सम्बन्धी ज्ञान लिने बेला नेपाल र भारतका वासिन्दाहरूले प्रायः ख्याल नगर्ने केही महत्त्वपर्ण सवालहरू हुन् । आजको समयमा नेपाली र भारतीयहरूका लागि कुनै शुद्धसिद्ध अटुट परम्पराबाट आएका बौद्धहरूले लेखेका प्रामाणिक कुरा अध्ययन गर्ने अवसर दुर्लभप्रायः छ किनकि प्रायजसो लेख, पुस्तक, जर्नल तथा अन्य इन्टरनेटका स्रोतहरू प्रामाणिक बौद्ध ग्रन्थ/आगमहरूमा नभएका कुराहरूले भरिएका पाइन्छन् । बाह्रौं शताब्दीतिर भारतवर्षमा बुद्धधर्मको अवसानपछि जनमानसमा प्रामाणिक र परम्परागत बौद्ध अवधारणा पनि क्षीण हुँदै गयो । त्यसको ठाउँमा वैदिक हिन्दू गुरुहरूले प्रस्तुत गरेका बुद्धधर्मसम्बन्धी सूचना तथा व्याख्याहरू व्याप्त हुन थाल्यो जसमा उनीहरूबाट प्रायजसो बौद्ध सिद्धान्त तथा अभ्यासहरूलाई गलत तरिकाले प्रस्तुत गर्ने काम भयो । सम्भवतः बुद्धधर्म र बुद्धको विषयमा आज तपाईँमा भएको ज्ञान कुनै अटुट बौद्ध परम्पराका गुरु वा पुस्तक/ग्रन्थबाट नभई त्यस्तै गैर-बौद्ध स्रोतहरूबाट आएको हुन सक्छ । बौद्ध परम्परा, यसको हस्तान्तरणको/ पुस्तान्तरणको इतिहास एवं नेपाल र भारतमा यसको हालको अवस्थाको संक्षिप्त परिचय तल दिइएको छ ।
श्रमण परम्परा प्राचीन भारतवर्षमा एउटा भिन्न आध्यात्मिक धाराका रूपमा वैदिक धाराभन्दा बाहिर रही चलिआएको परम्परा थियो । यस परम्परा अन्तर्गतका भगवान् बुद्ध तथा उहाँका शिष्यहरूले वेदलार्इ चौथो पुरुषार्थ अर्थात् मोक्ष प्राप्त गराउने परमसत्ताका रूपमा कहिल्यै स्वीकार गर्नुभएन । भगवान् बुद्ध र उहाँको अटुट परम्पराका शिष्यहरूले वेदमा लेखिएका कुरा, त्यसबाट निसृत सहायक परम्पराहरू, त्यसबेला चलेका जैन, चार्वाकजस्ता समकालीन श्रमण परम्पराहरूको समेत सधैं खण्डन गर्दै आउनुभयो । त्यसै क्रममा उहाँहरूले एउटा विशिष्ट दर्शन प्रणालीको विकास गर्नुभय जसलाई पछि ‘बुद्धधर्म’ अर्थात् बुद्ध वा बुद्धहरूद्वारा प्रतिपादित धर्म (बौद्ध दर्शन) भनियो ।
‘अनात्मवाद’ नामले ख्याति पाएको यो ज्ञान भगवान् बुद्धबाट आफ्ना शिष्यहरूमा हस्तान्तरण हुँदै आयो । तिनै शिष्यहरू विगतका बुद्धहरूको उपदेश यस लोकबाट समूल लोप भइसकेपछि त्यही पहिले सिकिएको उपदेशहरूलाई पुनः सिकाउनका लागि बुद्ध बनेर यस लोकमा आउँदछन् । यस विषयमा बौद्ध ग्रन्थहरूले दुई कुरालाई अभिव्यक्त गर्छन् – पहिलो, बुद्धहरूको त्यस्तो परम्परा अटुट रूपमा चलिरहेको छ र दोस्रो, गंगा नदीका बालुवाका कणहरू जतिकै संख्यामा बुद्धहरू विगतमा भएका थिए भने भविष्यमा पनि त्यति नै बुद्धहरू हुनेछन् । वैदिक हिन्दू धर्म वा अरु कुनै धर्म यो ज्ञानको अटुट धारा भन्दा बाहिरको हो ।
सम्पूर्ण बुद्धोपदेशका सारका रूपमा रहेको ‘प्रतीत्यसमुत्पाद’ भनिने हेतुफल सिद्धान्तले वैदिक हिन्दू परम्परामा महत्त्वपूर्ण ठानिएका ‘आत्मा/ब्रह्म’, ‘सृष्टिकर्ता (ईश्वर)’, ‘प्रथम कारण’, ‘सांख्य दर्शन अनुसारको पुरुष तत्त्व’, वा शिव, विष्णुजस्ता देवताहरूका शिक्षा आदि जस्ता दार्शनिक मतहरूको खण्डन गर्दछ । जे जति पनि अस्तित्वमा “छन्” भन्न सकिने कुराहरू सबै यस प्रतीत्यसमुत्पादको दायरा अन्तर्गत नै आउँछन् । यसको दायरामा नपरेका विषयवस्तु कुनै पनि स्थान वा समयमा स्वतन्त्र अस्तित्वमा रहन संभव छैन । बुद्धधर्ममा यही नै परमार्थ सत्य हो । यसै दृष्टिकोणका आधारमा वैदिक-हिन्दू दर्शनद्वारा प्रतिपादित अस्तित्त्व सम्बन्धी सिद्धान्तहरूलार्इ मिथ्यादृष्टि मानिन्छ । बुद्धधर्ममा यस प्रकारको मिथ्यादृष्टिलाई दुई वर्गमा विभाजन गरिएको छ – शाश्वतवाद र उच्छेदवाद । बौद्धहरू मान्छन् कि त्यस्ता दृष्टिहरू यथार्थपरक छैनन् र ती दृष्टिहरू परमार्थ सत्य – ‘यथाभूत ज्ञान दर्शन’ साक्षात्कार गर्नका लागि सहयोगी हुन सक्दैन ।
तसर्थ, बुद्धधर्मले हेतुफल सिद्धान्त र प्रतीत्यसमुत्पादको सिद्धान्तका आधारमा रही अस्तित्वको सत्य सम्बन्धी आफ्नै दृष्टि स्थापित गरेको छ जसलार्इ “मध्यम प्रतिपदा” भनिन्छ । सत्यलाई जस्तो छ त्यस्तै रूपमा देख्नु अर्थात् ‘यथाभूत ज्ञान दर्शन’ बाट मात्रै मोक्ष प्राप्त हुने हुनाले सबै खालका वैदिक-हिन्दू दर्शनहरू मिथ्यादृष्टिले युक्त छन् र तिनीहरूले हाम्रो अस्तित्त्व सम्बन्धी सत्यलाई सही ढंगले व्यक्त गर्दैनन् भन्ने मत बुद्धधर्ममा रहेको छ । आफ्ना यी कुराहरू स्थापित गर्न र वेद, पूर्व मीमांसा /उत्तर मीमांसा (वेदान्त), सांख्य-योग, न्याय-वैशेषिक आदि जस्ता वैदिक-हिन्दू मतका शाखाहरूको खण्डन गर्नको लागि ठूलो बौद्ध ग्रन्थराशिको रचना भएको हामी पाउँछौँ । यसको बदलामा गैरबौद्ध मतावलम्वीहरूले पनि आफ्नो दार्शनिक मान्यताको रक्षार्थ बौद्ध मतहरूको खण्डन गर्ने प्रयास नगरेका होइनन् । बौद्ध र गैरबौद्ध मतहरूले यसप्रकार एक अर्काको खण्डन गरेका यी ऐतिहासिक दस्तावेजहरू प्रमाणका लागि अद्यापि उपलब्ध छन् जसले प्राचीन भारतवर्षमा बुद्धधर्म एक पृथक र विशिष्ट परम्परा थियो भन्ने तथ्यलाई प्रष्टसँग दर्शाउँछ ।
तर बाह्रौँ शताब्दीतिर तत्कालीन मुसलमान अतिक्रमणकारीहरूको आक्रमणमा परी नालन्दा, विक्रमशील, सोमपुरी, ओदन्तपुरी आदि जस्ता त्यस बेलाका विशाल बौद्ध विश्वविद्यालयहरू ध्वस्त भएसँगै बुद्ध धर्मले आफ्नो अवसानबाट आफूलाई बचाउन सकेन । अन्ततोगत्वा भारतवर्षको मुख्य भूभागहरूमा यसको विशिष्ट मार्ग र शिक्षाहरू क्रमशः विकृत र क्षीण हुँदै गयो । तथापि भारतवर्ष र यसको सांस्कृतिक सेरोफेरोमा बौद्ध अवधारणाहरू दुई प्रकारले निरन्तर चलिरहे- पहिलो, वैदिक-हिन्दू परम्पराको विकासको लागि यी बौद्ध अवधारणाहरूले प्रेरक तत्त्वका रूपमा काम गर्यो । अर्थात्, केही बौद्ध सिद्धान्तहरूलार्इ उनीहरूले आफ्नो विचार र अभ्यास प्रणालीमा समाहित गराए । यो क्रम पौराणिक कालमै शुरू भइसकेको थियो । त्यसैबेला बुद्धधर्मको प्रभावलाई क्षीण बनाउने र बुद्धलाई पनि वैदिक वृत्तमा समायोजन गर्ने रणनीतिस्वरूप बुद्धलाई विष्णुको एक अवतारको रूपमा चिनाउन थालियो । दोस्रो, मुसलमानी ज्यादतीको प्रभाव केही कम भएका काठमाडौं उपत्यका, सिक्किम, भुटान, लद्दाख, बंगलादेश जस्ता भारतीय उपमहाद्वीपको बाहिरी किनाराका क्षेत्रहरूमा यसले निरन्तरता पाई नै रह्यो ।
सौभाग्यवश, भारतवर्षका मुख्य भूभागहरूमा लोप भएर जानुअघि नै बुद्धधर्म नेपाल, तिब्बत, श्रीलंका, चीन जस्ता छिमेकी एशियाली मुलुकहरूमा फैलिसकेको थियो जहाँ यसले आफ्नो जीवित परम्परालाई पछिसम्म पनि कायम राख्न सक्यो । यसर्थ, आफ्ना ग्रन्थ, साधना निर्देशिका, मौखिक उपदेश (जुन अद्यापि गुरुबाट शिष्यलार्इ प्रत्यक्ष अभिषेक दिएर अभ्यास गराउने आधिकारिक पद्धतिका साथ चल्दै आएको छ ), पूजाविधि आदि मार्फत् बुद्धधर्म झाँगिदै गयो जसलाई भारतवर्षमा रहेका जीवित परम्पराका गुरु/पण्डितहरूले ती देशहरूमा प्रसार गरेका थिए ।
भारतवर्षभन्दा बाहिर बुद्धधर्म तीन मुख्य वाहिनी मार्फत् प्रसार भएको देखिन्छ – पहिलो, अहिले थेरवाद भनी चिनिने श्रावकयानको एक निकाय इसापूर्व तेस्रो शताब्दीको मध्यतिर राजा अशोकका जेठा छोरा महिन्दले श्रीलंकामा प्रसार गरेका थिए । दोस्रो प्रमुख प्रसार अन्तर्गत सहस्राब्दीको आरम्भतिर भारतवर्षको उत्तरपश्चिमी भूभागबाट रेशममार्ग हुँदै चीनतिर भएको थियो । तेस्रो प्रमुख प्रसार इस्वीको सातौँ शताब्दीतिर नालन्दा विश्वविद्यालयका गुरुहरूको संरक्षकत्वमा तिब्बतमा गरिएको थियो । यी सबै परिस्थितिहरूमा प्राकृत वा संस्कृत जस्ता तत्कालीन उत्तर भारतका विभिन्न भाषाहरूमा रहेका बौद्ध ग्रन्थहरूलाई दक्ष बौद्ध पण्डित तथा अभ्यासीहरूद्वारा पाली, चिनिया तथा तिब्बती भाषामा अनुवाद गर्ने काम भयो । उनीहरूकै परिश्रमले गर्दा भारतवर्षको मुख्य भूभागभन्दा बाहिर बुद्धधर्म संरक्षित भएर रहन सक्यो । उनीहरूले शाक्यमुनि बुद्धबाट अटुट रूपमा चल्दैआएको अभ्यास परम्परालाई पनि कायम राखे ।
बौद्ध आगम तथा अधिगमको संबन्धमा – भगवान् बुद्धकै समयदेखि बौद्धहरूले यत्नपूर्वक आफ्नै ग्रन्थ/आगमराशिलार्इ निरन्तर कायम राख्दै आइरहेका छन् । बौद्धहरूको लागि यी ग्रन्थ/आगमहरूको शुद्धता र यिनीहरूमा आउन सक्ने विचलन विशेष सरोकारको विषय बन्ने हुनाले २५०० वर्षभित्र तिनीहरूले विभिन्न संगायन अर्थात् संगीतिहरूको आयोजना गरेका छन् । हामीलाई थाहा छ, श्रावकयानको एक निकाय थेरवादले आफ्नो त्रिपिटक जोगाउनको लागि आजसम्म ६ वटा संगायनहरूको आयोजना गरिसकेको छ । हस्तान्तरण हुँदै आएका यी ग्रन्थहरूलाई मूलतः २ वर्गमा बाँड्न सकिन्छ – पहिलो, बुद्धवचन वा बुद्धका उपदेशहरू जसलाई सुत्त वा सूत्र पनि भनिन्छ । दोस्रो, बुद्धका आफ्नै शिष्य तथा पछिका शुद्धसिद्ध र अटुट जीवन्त परम्पराका गुरुहरूबाट बुद्धका उपदेशहरूलाई अझ प्रष्ट पार्नको लागि लेखिएका टीका/भाष्य वा शास्त्र हुन् । प्रारम्भमा यी आगमहरू श्रुतिपरम्परा मार्फत् चलिरहेका थिए । इस्वीको आरम्भतिर मात्र तिनलाई लेख्ने काम शुरू भयो । बौद्धहरू यी सूत्र र शास्त्रहरूलार्इ मात्र शिक्षाको आधिकारिक स्रोत मान्दछन् । बौद्ध शिक्षा भनी लेखिएका बोलिएका कुनै पनि कुराहरु यी ग्रन्थस्रोतहरूसँग बाझिनु हुँदैन ।
परम्परागत ऐतिहासिक बौद्ध अभिलेख अनुसार यी बौद्ध ग्रन्थहरू सबभन्दा पहिले संस्कृत, प्राकृत, पैशाची र अपभ्रंशजस्ता ४ वटा प्रमुख भारतीय भाषाहरूमा लेखिएका थिए । विभिन्न कारणहरूले गर्दा यीमध्ये धेरैजसो ग्रन्थहरू भारतवर्षको मुख्य भूभागबाट हराएर गए । आधुनिक कालसम्म आइपुग्दा भारतीय उपमहाद्वीपमा पाली, बौद्ध वर्णशंकर संस्कृतजस्ता प्राकृत भाषा वा शास्त्रीय संस्कृतजस्ता केही भाषाहरूमा लेखिएका ग्रन्थ/आगमहरू मात्र जीवित रहेको हामी पाउँछौं । गान्धारी भाषामा लेखिएको बौद्ध ग्रन्थ पनि पाकिस्तानमा हालै पाइएको छ । विगतमा यी ग्रन्थ/आगमहरू अन्य मध्य एशियाली भाषाहरूमा पनि लेखिएका थिए – रेशममार्ग हुँदै अन्य छिमेकी मुलुकहरूमा बौद्धधर्म प्रसार गर्ने क्रममा यी ग्रन्थ/आगमहरू त्यस्ता थुप्रै भाषाहरूमा अनुवाद गरिएको हुन सक्छ भन्ने अनुमान यस तथ्यबाट लगाउन सकिन्छ ।
त्यसैगरी, अनात्मको साक्षात्कार गर्ने शिक्षा पनि भगवान् बुद्धकै पालादेखि आजसम्म अविच्छिन्न रूपमा गुरुशिष्य प्रणाली मार्फत् शुद्धसिद्ध अटुट बौद्ध परम्परामा चल्दै आइरहेको छ । त्यस्तो शुद्धसिद्ध परम्पराले सिद्ध गुरुहरू पनि जन्माएको छ । तसर्थ प्रामाणिक बौद्ध परम्परालाई इंगित गर्न ‘सिद्ध’ भन्ने अर्को विशेषण पनि प्रचलनमा रहेको देखिन्छ । ग्रन्थ/आगम तथा साधना परम्पराका यी दुई माध्यम अनुसार नभएका कुनै पनि व्याख्या वा कथित अनुभूति प्राप्त भनिएका व्यक्तिलार्इ प्रामाणिक बौद्ध परम्पराका गुरु मान्न सकिँदैन । यति स्पष्ट मार्गदर्शन पद्धति हुँदाहुँदै पनि नेपाल र भारतका अधिकांश मानिसहरू जीवित बौद्ध परम्पराबारे जानकार रहेको पाइँदैन ।
पूर्ण जागृत भई बोधि प्राप्त गरिसकेकालार्इ ‘बुद्ध’ भनिन्छ तर यहाँ ‘जागृत’ वा ‘बोध’ भन्दाखेरि भारतीय आध्यात्मिक इतिहासमा पाइने अन्य प्रकारका जागृति वा बोधलार्इ भने भनिएको होइन । बौद्धहरूले भगवान् बुद्धको बोधिलाई वैदिक-हिन्दू परम्परामा प्रचलित मोक्ष भन्दा फरक र विशिष्ट तरिकाले परिभाषित गर्दछन् । भगवान् बुद्धको बोधि आफैमा एउटा बृहत् विषय हो; संक्षिप्तमा यसलाई यसरी वर्णन गर्न सकिन्छ – क्लेशावरण र ज्ञेयावरणलाई पूर्ण रूपमा हटाइसकेकालाई बुद्ध भनिन्छ । क्रमश: पुद्गल नैरात्म्य र धर्म नैरात्म्यलाई बोध गरेको परिणाम स्वरूप त्यस अवस्थामा पुगिन्छ । त्यसबाहेक भगवान् बुद्धले चार वैशारद्य, दशबल र अष्टादशावेणिकधर्म लगायत त्रिकाय अर्थात् धर्मकाय, संभोगकाय र निर्माणकाय पनि प्राप्त गरिसक्नुभएको हुन्छ । भगवान् बुद्धलार्इ चार प्रकारका मारहरू अर्थात् स्कन्धमार, मृत्युमार, क्लेशमार र देवपुत्रमार (जसले सिद्धार्थलाई बोधिज्ञान प्राप्त गर्नबाट रोक्न खोजेका थिए) लार्इ जितिसकेका भन्ने दृष्टिकोणबाट पनि चिनाउन सकिन्छ । छ वटा गुणहरू (भग) लाई प्राप्त गरिसकेको दृष्टिकोणबाट पनि बुद्धत्वलार्इ व्याख्या गर्न सकिन्छ जसको कारणले बुद्धलाई ‘भगवान्’ पनि भनिन्छ (द्रष्टव्य – भारतीय आध्यात्मिक इतिहासमा बुद्धलाई नै पहिलो पटक ‘भगवान्’ भन्ने शब्द प्रयोग गरिएको थियो) । तीन वा चार असंख्य कल्पहरूसम्म गरेका बोधिसत्त्वचर्याको फल स्वरूप उहाँलार्इ यी कुराहरू प्राप्त भएका थिए । बौद्ध ग्रन्थहरू अनुसार यस बोधिसत्त्वचर्याको अवधिभरमा उहाँले १ लाख ५० हजार भन्दा बढी अतीतका बुद्धहरू भेट्नुभएको थियो । साथै बुद्धोपदेशित मार्गका आफ्नै विशिष्ट विषयवस्तुहरू छन् जस्तै बोधिचित्तोत्पाद, बोधिपाक्षिकधर्म, चतुरार्यसत्य, षट्पारमिता, शमथ र विपश्यनाको अभ्यास इत्यादि । यी मध्येका धेरैजसो कुराहरू भारतवर्षका अन्य गैरबौद्ध परम्पराहरूमा पाइँदैनन् । यी अवधारणासँग मिल्ने कुराहरू यदि पाइयो भने त्यो कि पछि बौद्ध परम्पराबाट साभार गरी समाहित गरिएका हुन्, कि त संस्कृत भाषाको उस्तै शब्दावली प्रयोग भएकाले समान देखिएको मात्र हो भनेर बुझ्नुपर्ने हुन्छ ।
भगवान् बुद्ध सृष्टिकर्ता हुनुहुन्न, न त कुनै देवता वा त्रिधातु (वा त्रिभुवन) मा पाइने अन्य सत्त्वप्राणी वर्गका नै हुनुहुन्छ । यसको अर्थ उहाँ एक मनुष्य पनि हुनुहुन्नथ्यो । उहाँले आफ्नो उपदेशमा यी कुराहरूलाई प्रष्टसँग राख्नुभएको छ । कुनै पनि प्राणीले यस लोकका बुद्धहरूसँग सिकेर र अभ्यास गरेर वा एक जीवन्त बौद्ध परम्पराको कुनै प्रामाणिक गुरुको सानिध्यमा बुद्धोपदेशहरूको अभ्यास गरेर पूर्ण सम्यक् संबुद्धता प्राप्त गर्न वा बुद्ध बन्न सक्दछ । कसैले पनि “म बुद्ध-पुरुष हुँ” भनी दावी गर्न सक्छन् तर त्यसो भन्दैमा त्यो कथित बुद्ध-पुरुषको “बोधि” बौद्ध ग्रन्थहरूमा व्याख्या गरिएका वा बौद्ध ध्यानको पद्धतिले स्वीकार्ने बुद्धताको बराबर हुन सक्दैन । पूर्ण बुद्धता लाभ गर्न त शुद्धसिद्ध र अटुट बौद्ध परम्परासँग जोडिनु अनिवार्य हुन्छ । बौद्ध ग्रन्थहरूमा उल्लेख भएअनुसार संसारका सबै सत्त्वप्राणीहरूले बुद्धता प्राप्त नगरेसम्म बुद्धहरूको यस प्रकारको ज्ञानधाराको अटुट शृङ्खला निरन्तर चलिरहन्छ । वैदिक-हिन्दूजस्ता अन्य सबै धर्मसम्प्रदायहरू यस प्रकारको मार्ग र बोधिज्ञान भन्दा बाहिर र फरक छन्।
नेपाल र भारतमा व्याप्त बुद्धधर्मसम्बन्धी भ्रम र अपव्याख्याको सन्दर्भलाई केलाउँदा माथि उल्लिखित २५०० वर्षको बौद्ध इतिहास, बौद्धहरूले जोगाएर राखेका बौद्ध ग्रन्थराशि र शाक्यमुनि बुद्धकै कालदेखि अटुट रूपमा चल्दै आएको अभ्यास परम्परालाई सामान्यतया उपेक्षा गरिएको पाइन्छ । भगवान् बुद्धका विश्वसनीय र सिद्ध शिष्यहरूले यत्नपूर्वक संग्रह गरेका ती ग्रन्थहरूमा उल्लेख गरिएअनुसार नभई उहाँले कुनै अर्कै कुरा सिकाउनुभयो भन्नु जस्तो मिथ्या र भ्रामक कुरा अरू के हुन सक्ला र ?
त्यसैले हामी आशा गर्छौं कि यस पेजमा भएका सारभूत तथ्यहरूले बुद्धोपदेशका स्रोतको विषयमा रहेका भ्रमहरू निवारण गर्नेछन् र विशेषगरी नेपाल र भारतका वासिन्दाहरूलाई वैदिक-हिन्दूधर्मको कुनै पनि दर्शनभन्दा पृथक रहेको बौद्ध दृष्टि, मार्ग र फलको विषयमा बुझ्न सघाउनेछन् । किनकि नेपाल र भारतमा रहेका अधिकतर हिन्दू र आफ्नो धरातल नै गुमाइसकेका केही बौद्धहरू समेतले अप्रामाणिक स्रोतहरूबाट बुद्धधर्मसम्बन्धी ज्ञान लिने गरेको हुनाले त्यसले उनीहरूमा भ्रम मात्र पैदा गरेको छ । प्रष्ट जानकारीको अभावमा यस किसिमको अन्योल कायम रहेको परिवेशमा थोरै मात्र भए पनि भ्रम निवारण गर्न सघाउ पुगेमा हाम्रो प्रयत्न सार्थक भएको ठान्नेछौं ।
कुन आध्यात्मिक परम्परालाई छान्ने भन्ने कुरा तपाईँको आफ्नो व्यक्तिगत रोजाइको विषय हो । यदि तपाईँ पाठकवर्ग तथा सब्स्क्राइबरहरूले बुद्धधर्मसम्बन्धी केही कुरा पढिरहनुभएको छ भने आफैलाई एउटा प्रश्न गर्न हामी आग्रह गर्छौं – “के म कुनै प्रामाणिक बौद्ध स्रोतबाट आएको कुरा पढिरहेको त छु ?”