बुद्धधर्म हिन्दुधर्मको शाखा होइन

बुद्धको विषयमा रहेका प्रमुख भ्रम वा अपव्याख्याहरु – “‘बुद्ध विष्णुका दश अवतारहरू मध्येका एक हुन्’”

Posted मार्च 26, 2024 02:42:03 दिउँसो

भगवान्बुद्धको सम्बन्धमा नेपाल र भारतमा चलेको यो सबभन्दा ठूलो भ्रम हो । बौद्ध र हिन्दू वैदिक साहित्यहरू हामीले हेर्यौ भने दुवैमा फरक दृष्‍टिकोण तर पाउछौं ।

श्रावकयानदेखि महायानसम्मका कुनै एक यस्तो बौद्ध साहित्य भेटिंदैन जसमा भगवान् बुद्ध विष्णुका अवतार हुनुहुन्छ भन्ने विषयलाई अलिकति पनि संकेत गरेको वा प्रवर्द्धन गरेको होस् । यो त जीवित बौद्ध परम्परामा कहिल्यै नभएको, नसुनिएको कुरा हो । बुद्धधर्ममा विष्णुलाई कामधातुका देवताहरू मध्येको एक सामान्य देवताको रूपमा मात्र लिएको पाइन्छ जसलाई भारतका विभिन्न आध्यात्मिक परम्पराहरूमा भिन्नाभिन्नै तरिकाले विष्णुको भूमिका र शिक्षालार्इ उल्लेख गरी प्रस्तुत गरिएको छ । यसैबाट नेपाल र भारतमा चलेको अवतारसम्बन्धी अवधारणाको सूत्रपात भएको हुन सक्छ । तर बौद्ध दृष्टिकोणबाट हेर्ने हो भने ‘विष्णु एक वैदिक देवता हुन्’ भन्ने कुरा सर्वथा भ्रामक देखिन्छ ।

बौद्ध परम्परा अनुसार ‘बुद्ध’ भनेको यस्ता व्यक्तिलार्इ मानिन्छ जसले आफ्नो चित्तसन्तानमा भएका कर्मक्लेश लगायत सम्पूर्ण अविद्यालार्इ निर्मूल पारेर त्रिभुवन वा त्रिधातुको सबै खालको भवबन्धनलार्इ पार गरिसकेको छ । उहाँको ज्ञान र शक्ति पनि समग्र ब्रह्माण्डमा सर्वोच्च मानिन्छ । जबकि, बौद्ध धर्म अनुसार विष्णुजस्ता देवताहरूलाई शक्तिशाली सत्त्व  वा प्राणी मानिए पनि उनीहरू जन्म र मृत्युको चक्रमा नै घुमिरहेका प्राणी हुन् । वास्तवमा महायानमा विष्णुलाई क्लेशहरूको प्रतिनिधिको रूपमा चित्रण गरिएको छ । यसर्थ बुद्धधर्ममा विष्णुको स्थान तल नै छ; उनलाई सृष्टिकर्ता वा केही वैदिक हिन्दू ग्रन्थहरूमा चित्रण गरिएजस्तै समस्त जगतको पालन गर्ने पालनहार, परमेश्वर मानिएको छैन । ऋग्वेदमै पनि विष्णुलाई इन्द्रभन्दा तलको स्थान दिइएको छ । बुद्धधर्ममा त उनको कुनै विशेष भूमिका नै छैन । बरु उनलाई बुद्धको शिष्यको रूपमा पनि चित्रण गरिएको पाइन्छ । यो बौद्ध परम्पराको सन्दर्भमा महत्त्वपूर्ण कुरा हो ।

विभिन्न थरीका बौद्ध साहित्यहरूमा विष्णुको उल्लेख बारम्बार गरिएको पाइन्छ । दीघनिकायको “महासमयसुत्त” जस्ता श्रावकयानका सुत्तहरूमा भगवान् बुद्धलार्इ वन्दना गर्न विष्णु आएको उल्लेख छ । यस सुत्तमा दुई कुराहरू स्पष्ट छन् – पहिलो, भगवान् बुद्धलार्इ वन्दना गर्न आउने तेत्तीस जना देवताहरूमध्ये विष्णुलाई तलकै श्रेणीमा राखिएको छ र स्पष्ट रुपमा भगवान् बुद्धलाई ती सबै देवताहरूभन्दा उच्च स्थान दिइएको छ । संयुक्तनिकायको वेण्डुसुत्तमा “बुद्ध वन्दना गर्नेहरू सुखी हुन्छन्” भन्दै विष्णुले स्तुतिगान गरेको प्रसंग भेटिन्छ । अभिधर्म भनी मानिने “अर्थविनिश्चयसूत्र” नामक एक श्रावक सूत्रमा उल्लेख भए अनुसार भगवान् बुद्धको शरीरमा एक तथागत हुनका लागि आवश्यक ३३औं महापुरूष लक्षण “महानारायणको जस्तो शारिरिक सौम्यता” रहेको, र त्यस्तो लक्षण हुनुको कारण उनले क्षतिग्रस्त स्तुपहरूको मर्मत गरेको र आफ्नो अघिल्लो जुनीमा त्रस्त रहेका प्राणीहरुलाई लाई सान्त्वना दिएको कुरा उल्लेख छ (जुन बौद्ध धर्म अनुसार एक प्रकारको दान हो – अभय दान )। धर्मबर्द्धनसूत्र, ललितविस्तरसूत्र, अक्षयमतिनिर्देशसूत्र, महापरिनिर्वाणसूत्र, श्रीमहादेवीव्याकरणसूत्र, कारण्डव्यूहसूत्र, लंकावतारसूत्र, अनित्यतासूत्र, दशभूमिकसूत्र, विमलकीर्तिनिर्देशसूत्र, रत्नकेतुपरिवर्तसूत्र, सद्धर्मपुण्डरिक, नारायणपरिपृच्छासूत्र जस्ता विभिन्न महायानसूत्रहरूमा भगवान् बुद्धलाई नारायण, ब्रह्मा, वरुण, सक्र (इन्द्र) आदि देवताहरूले घेरिएर बसेको कुरा उल्लेख गरिएको पाइन्छ । यीमध्ये धेरैजसो सूत्रहरूमा विष्णुलाई भगवान् बुद्धको शिष्यको रूपमा चित्रण गरिएको मात्र होइन ब्रह्मा र सक्र (इन्द्र) को तुलनामा उनलाई न्यून भूमिकामा सीमित गरिएको पनि पाइन्छ । उदाहरणको लागि ललितविस्तर सूत्रमा अन्य प्रमुख देवताहरूसँगै नारायण (विष्णुको अर्को नाम) ले पनि भगवान् बुद्धको चरणस्पर्श गरेको भनेर उल्लेख गरिएको पाइन्छ । अक्षयमतिनिर्देशसूत्र जस्तो अर्को सूत्रमा अझ रोचक कुरा पाइन्छ । त्यसमा भगवान् बुद्धले दम्भी, घमण्डी, उग्र तथा क्रोधी प्राणीहरूलाई सघाउनको लागि नारायण लगायत इन्द्र, ब्रह्मा, लोकपाल आदिजस्ता देवताहरूकै बराबर शक्ति प्रदर्शन गरेको उल्लेख छ । त्यहाँ नारायणको शक्तिलाई बुद्धको शक्तिको मापन गर्ने एकाइको रूपमा चित्रण गरिएको छ । यो आजभोलि इन्जिनहरूको शक्ति नाप्नको लागि ‘हर्सपावर’ को प्रयोग गरेजस्तै हो । बसुबन्धु (चौथो–पाँचौँ शताब्दी) ले रचना गरेका अभिधर्मकोषभाष्यमा बुद्धको शक्तिको मापन गर्न विष्णुको शक्ति अर्थात् “नारायण एकाइ”को प्रयोग गरिएको विषयमा विस्तृत विवरण पाइन्छ । सो भाष्यमा “एक नारायण एकाइ” करिब “दश-लाख” साधारण हात्तीहरूको बल बराबर हुन्छ भनेर भनिएको छ । बसुबन्धुले भगवान् बुद्धमा असंख्य नारायण एकाइ बराबरको शक्ति रहेको उल्लेख गर्दै संवादको अन्त गरेका छन् ।

कारण्डव्यूहसूत्रले शिव, विष्णु/नारायण आदिजस्ता देवताहरूको सन्दर्भमा अर्को रोचक बौद्ध अवधारणालाई प्रस्तुत गरेको छ । त्यहाँ बोधिसत्त्व अवलोकितेश्वरको हृदयबाट विष्णुको उत्पत्ति भएको उल्लेख पाइन्छ । त्यसै सूत्रमा यदि प्राणीहरुले नारायणकै स्वरूपलाई ज्यादा रुचाएर उपदेशहरूप्रति बढी एकाग्रता देखाउन थालेको देखियो भने भगवान् बुद्धले नारायणकै रूप लिएर देशना गर्न सक्नुहुन्थ्यो भनिएको छ । यहाँ द्रष्टव्य के छ भने बोधिसत्त्व अवलोकितेश्वर दशभूमि अर्थात् पूर्ण बुद्धत्व प्राप्तिको लागि एक तहमात्र बाँकी रहेको स्तरमा पुगिसकेका बोधिसत्त्व हुन् । तथापि उहाँको ज्ञानलाई पूर्ण बुद्धत्व प्राप्त गरिसक्नुभएका शाक्यमुनि बुद्धको ज्ञानस्तर भन्दा तल नै मानिन्छ । यसबाट बुद्धधर्ममा विष्णुको हैसियतलाई पुनः एक पटक बुझ्न सकिन्छ ।

नारायणपरिपृच्छसूत्र जस्ता केही महायानसूत्रमा विष्णुलाई एक वार्ताकारको रूपमा चित्रण गरिएको छ जहाँ एक साधारण शिष्यको रूपमा उनले भगवान् बुद्धलाई प्रश्न गरेको प्रसंग पाइन्छ । त्यस्ता महायानसूत्रहरूमा नारायण वा विष्णुलाई बुद्धत्व प्राप्तिको लागि बुद्धपथको अनुसरण गर्ने एक बोधिसत्त्वको रूपमा चित्रण गरिएको छ । श्रीलंकाको थेरवाद जस्ता श्रावकयानिय परम्पराहरूमा विष्णुलाई भगवान् बुद्धले नियुक्त गरेको धर्मपालको रूपमा पनि चित्रण गरिएको छ । त्यहाँ उनलाई “उप्पलवण्ण” अर्थात् नीलो रङको देवता भनिएको छ । विष्णुको यो विवरण वैदिक हिन्दू ग्रन्थमा उल्लेख गरिएको विष्णुको रुपसँग मेल खान्छ । त्यस्तै ‘योगाचारभूमि’ जस्ता बौद्ध ग्रन्थहरूमा पनि विष्णुलाई तीन अनुहार भएको, हरियो-पहेँलो वर्ण भएको, दायाँ हातमा सुदर्शन चक्र धारण गरेको र गरुड भनिने पौराणिक पंक्षीमाथि सवार भएको भनेर वर्णन गरिएको पाइन्छ । त्यसबाहेक वज्रयान परम्परामा ‘मण्डल’ मा रहेका देवताहरूमध्ये भगवान् बुद्ध बोधिसत्त्व सहित मुख्य बौद्ध देवताभन्दा तलको स्थानमा रक्षक देवताको रूपमा उनलाई पनि समावेश गरिएको छ । बौद्धहरूले राम्रोसँग लौकिक चिन्ने देवता भएको र बौद्ध ग्रन्थहरूमा उनको उल्लेख पाइएको आधारमा भगवान् बुद्धलाई विष्णुसँग तुलना गर्नु वा उहाँलाई वैदिक देवता भन्नु आश्चर्यको कुरा हो ।

यस विषयमा भगवान बुद्धको आफ्नै अभिव्यक्ति पनि अझ महत्त्वपूर्ण रहेको देखिन्छ । “दोणसुत्त” (द्रोणसूत्र) मा द्रोण नाम गरेका एक ब्राह्मणसँगको वार्तालापमा भगवान् बुद्धले आफू कुनै देवता नभएको भन्दै आफूलाई केवल ‘बुद्ध’ भनेर जान्नू भन्नुभएको छ । यस सुत्तमा बुद्धलाई चिनाउँदा संसाररूपी हिलोबाट उत्पन्न भएर त्यस हिलोबाट निर्लिप्त भर्इ बाहिर आएको कमलको बिम्ब प्रयोग गरिएको छ । भगवान् बुद्धको लागि यस प्रकारको बिम्बको प्रयोग बौद्ध ग्रन्थहरूमा धेरै ठाउँमा गरिएको पाइन्छ ।

वैदिक हिन्दू साहित्यहरूमा प्रस्तुत गरिएको विष्णुको अवतार भनिएको बुद्ध र बौद्ध ग्रन्थहरूले प्रस्तुत गर्ने शाक्यमुनि बुद्धका बीचमा तथ्यगत भिन्नताहरू रहेका छन् । इस्वीको पहिलो शताब्दीको आरम्भतिर पुराणहरूको रचना हुन थालेसँगै मात्र विष्णु एक महत्त्वपूर्ण देवताको रूपमा उदाए । त्यस कालका पुराणहरूको शृङ्खलामा रहेका हरिवंश, विष्णुपुराण (३.१७.१८), भागवतपुराण (१.३.२४, २.७.३७, ११.४.२३), गरुडपुराण (१.१, २.३०.३७, ३.१५.२६), अग्नि पुराण (अध्याय १६, ‘बुद्धाद्यवतारकथन’), नारद पुराण (२.७२), लिङ्ग पुराण (२.७१), पद्म पुराण (३.२५२) आदिमा हामी चार मुख्य भिन्नताहरू पाउँछौँ –

१)    बुद्धको आमाको नामः बौद्ध साहित्यमा बुद्धको आमाको नाम मायादेवी भनेर उल्लेख गरिएको छ भने बुद्धावतार विष्णुको आमाको नाम अञ्जना भनिएको छ ।

२)    बुद्धको जन्मस्थलः शाक्यमुनि बुद्ध लुम्बिनीमा जन्मिनुभएको थियो भने बुद्धावतार विष्णु किकटमा जन्मिएका थिए ।

३)    भगवान् बुद्धको देशना र उहाँका गतिविधिहरुः वेदको भर्त्सना गर्ने असुरहरूलाई अलमल्याउनका लागि विष्णुले आफ्नो सबभन्दा निकृष्ट मायामोह स्वरूप लिएर बुद्धको रूपमा प्रकट भए भनी पुराणहरूमा लेखिएको छ । तर, शाक्यमुनि बुद्धले त विशिष्ट प्रकारको धर्म सिकाउनुभएको थियो जुन न कुनै असुरहरूप्रति लक्ष्यित छ, न त यसले कुनै हिंसा, घृणा वा मोह जस्ता अनुभूतिहरूलाई नै प्रश्रय दिन्छ । जबकि, मनुष्य, देवता, अनगिन्ति अमनुष्यहरू सबैले उत्तिकै चाख र वीर्यपूर्वक बुद्धोपदेश सुन्ने गरेको हामी पाउँछौँ । शीलाचरणको दृष्टिकोणबाट भगवान् बुद्धको शिक्षा त्रुटिहीन छन् । यसले सर्वव्यापी प्रेम, सद्भाव र सुखको प्रवर्द्धन गर्दछ । असुरहरूलाई मोहमा पार्नको लागि कुनै स्वरूप अवतरित भयो भन्ने पौराणिक कथा क्षेमेन्द्र, दयानन्द सरस्वती, स्वामी विवेकानन्द, सर्वपल्ली राधाकृष्णन आदिजस्ता थुप्रै वैदिक हिन्दू गुरुहरूको कथनसँग बाझिन्छ जसले भगवान् बुद्धका उपदेशहरूलाई भारतीय अध्यात्मवादमा सर्वोत्कृष्ट हुन् भनी भनेका छन् । वैदिक साहित्यमा बुद्धावतार विष्णुको कुनै पनि उपदेश पाइँदैन । यस्ता कथाहरूका अतिरिक्त, वास्तवमा यस्तो व्यक्ति साँच्चै अस्तित्वमा थियो वा थिएन भन्ने नै हामीलाई थाहा छैन ।

४)    भगवान् बुद्ध प्रकटको समय – भगवान् बुद्ध र बुद्धावतार विष्णु प्रकट भएको कालखण्ड पनि मेल खाँदैन । वैदिक बुद्धावतार कलियुगको प्रारम्भमा आउनु पर्ने थियो। तीन युगको सम्बन्धमा प्रचलित गणना अनुसार प्रायः कलियुग ३१००  ईसा पूर्व तिर सुरु भएको भनिन्छ; तर, शाक्यमुनि बुद्धको जन्म त ५०० ईसा पूर्वमा भएको थियो।

‘बुद्ध’ भन्ने नाम मिल्न गएको जस्ता सतही समानता बाहेक ती साहित्यहरूमा भगवान् बुद्धलाई विष्णुको अवतारको रूपमा प्रस्तुत गरिएको कुरा आजको युगको शाक्यमुनि बुद्धको सन्दर्भसँग कतै मेल खाँदैन । अद्वैत वेदान्त, स्मार्त आदिजस्ता परम्पराहरूमा भगवान् बुद्धलाई कुनै अवतार भनिएको छैन ।

प्राचीन भारतवर्षमा वैदिक शास्त्रमा समेत दखल भएका बौद्ध गुरुहरूले बौद्ध साहित्यहरूमा विष्णुको विषयमा सर्वथा भिन्दै अवधारणा प्रस्तुत गरेका छन् । भारतवर्षमा राजा कनिष्क (इस्वीको पहिलो शताब्दीतिर) को कालमा प्रख्यात एक महायानी बौद्ध गुरु शंकरस्वामीले ‘देवतास्तव’ नामक आफ्नो काव्यमा भगवान् बुद्धको आफ्नो सद्गुणका कारण उहाँलाई वैदिक साहित्यमा पनि स्वीकार गरिएको छ भनेर उल्लेख गरेका छन् । प्राचीन भारतवर्षमा एक जना बौद्धले उहाँलाई वैदिक सत्तामा समावेश गरिएको स्वीकार गर्नु एक महत्त्वपूर्ण कुरा हो । तर यहाँ द्रष्टव्य के छ भने उनले आफ्नो लेखमा शाक्यमुनि बुद्ध र विष्णुलाई दुई भिन्न व्यक्तित्वको रूपमा प्रस्तुत गरेका छन् । यसपछिका कुनै पनि बौद्ध साहित्यमा वा कुनै पनि लेखकले विष्णुलाई अवतारको कथासँग जोडेर प्रस्तुत गरेको हामी पाउँदैनौँ ।

आचार्य यशोमित्र (छैठौँ शताब्दी) ले “अभिधर्मकोशव्याख्या” भन्ने आफ्नो टीकामा विष्णुको विषयमा उल्लेख गर्दै विष्णुको ‘विराट रूप’ जस्तो चमत्कारहरूले प्राणीहरूलाई सांसारिक प्रपञ्चबाट मुक्त गर्न सक्दैन भनेका छन् । यस विपरीत भगवान् बुद्धले यस्तो भवसागरबाट तर्नका लागि हात दिए झैँ सत्यको साक्षात्कार गराउने त्रुटिरहित “सद्धर्म” सिकाउनुभएको थियो भनिएको छ । आचार्य धर्मकीर्ति (सातौँ शताब्दी) ले “सुभाषितरत्नकोश”मा “बुद्धले सत्य बताए पनि मानिसहरूले उहाँलाई झूटो भनेका छन् र तिनै मानिसहरूले वाल्मीकिको रामायणमा लेखिएका कथाहरूलाई चाहिँ सत्य ठानेका छन्” भनेर व्यङ्ग्य गरेका छन् । यहाँ उनले तथाकथित विष्णु, राम आदि अवतारका कथा सत्य होइनन् भनेर संकेत गरेका छन् ।

आचार्य चन्द्रकीर्ति नाम गरेका अर्का बौद्ध गुरुले ‘मध्यमकावतार’ भन्ने आफ्नो उत्कृष्ट रचनामा वैदिक साहित्यमा उल्लेख गरिएको ‘ईश्वर,’ ‘प्रकृति,’ ‘पुरुष’ वा ‘नारायण’बाट सृष्टिको रचना भएको होइन भनेका छन् । उनले पुराणहरूमा उल्लेख भएअनुसारको नारायणले नै संसारको सृष्टि गरेका हुन् भन्ने कुरालाई सर्वथा अस्वीकार गरेका छन् । तिब्बतमा बुद्धधर्मको प्रसार गर्नमा प्रमुख भूमिका खेलेका नालन्दा विश्वविद्यालयका प्रमुख शान्तरक्षित (आठौँ शताब्दी) ले आफ्नो उत्कृष्ट रचना ‘तत्त्वसंग्रह’ मा वैदिक हिन्दू परम्पराका सबै शाखाहरूको व्यापक खण्डन गरेका छन् । वैदिक हिन्दू परम्पराको सम्बन्धमा उनको बुझाइ भगवान् बुद्ध र पछिका विशिष्ट बौद्ध आचार्यहरूको भनाइहरूसँग समाञ्जस्य रहेको पाइन्छ । यी बौद्ध अवधारणाहरूले भगवान् बुद्धको सर्वोच्चताका साथसाथै बुद्ध र पुराणहरूमा उल्लेख भएको बुद्धावतार विष्णु भिन्न हुन् भन्ने कुरालाई समेत पुष्टि गर्दछ । यी अवधारणाहरूबाट समकालीन बौद्धहरूले मात्र नभई प्राचीन भारतवर्षका सिद्ध आचार्यहरू समेतले भगवान् बुद्ध र बुद्धावतार विष्णु भिन्न हुन् भन्ने कुरा स्पष्ट नै ग्रहण गरेको देखिन्छ । यसर्थ,

क)      प्राचीन भारतवर्षमा बौद्धहरूले पुराणमा पाइने विष्णुको अवधारणा र बुद्धको सन्दर्भलाई एकै हुन् भन्ने भावले हेर्दैनथे किनकि उनीहरू यी दुईको बीचमा रहेका भिन्नताहरूको विषयमा पूर्ण जानकार थिए । गैरबौद्ध धारका वैदिक लेखकहरू समेतले यी दुईलाई जोडेर हेर्दैनथे भन्ने कुरा पनि देखिन्छ ।

ख)      तत्कालीन भारतवर्षको समाजमा आजभोलि जस्तो बुद्ध विष्णुका अवतार हुन् भन्ने अवधारणाले त्यति जरा गाडिसकेको थिएन ।

ग)       बुद्धधर्ममा उल्लेख भएअनुसारको लोकमा विष्णुलाई एक साधारण देवताको रूपमा नै लिइएको देखिन्छ ।  

भारतवर्षमा यस अवधारणाले सर्वसाधारणलाई आकर्षित गर्न थालेसँगै एघारौँ–बाह्रौँ शताब्दीतिर वैष्णव मतावलम्बीहरूले यस अवधारणालाई अझ परिपोषित गर्न थालेको देखिन्छ । लेखक जयदेवले आफ्नो रचना ‘गीतगोविन्द’ र काश्मिरी बहुश्रुत  क्षेमेन्द्रले आफ्नो रचना ‘दशावतारचरित’ मा आफ्नै कथाहरू जोडेर भगवान् बुद्धलाई विष्णुको अवतार भन्दै बुद्धको कथा पुनः कथ्ने प्रयास गरे । ती काव्यहरू साहित्यिक अलंकार, विम्ब र कल्पनाशीलताले भरिएका छन् । तर तिनमा भएका विवरण वा घटनावलीहरू बौद्ध साहित्यमा पाइने बुद्धको जीवनकथा वा उपदेशहरूसँग मिलेको पाइँदैन । त्यसबाहेक माधवाचार्य नाम गरेका चौधौँ शताब्दीका एक प्रभावशाली वेदान्त गुरुले विष्णुसम्बन्धी पौराणिक कथामा टेकेर विष्णुले ‘बुद्ध’ नामक एक बालकको रूप लिएर असुरहरूलाई मोहजालमा पारे भन्ने कथा पुनः अघि सारेको देखिन्छ  । वैदिक साहित्यमा पाइने त्यस्ता कथाहरूले भारतीय अध्यात्मवादको इतिहासमा वैदिक बुद्ध र उनका उपदेशलाई लिएर मानिसहरू आश्चर्यमा पर्छन् । किनकी शाक्यमुनि बुद्ध र त्यस्ता वैदिक मिथक वा हौवाहरूको बीचमा कुनै सम्बन्ध रहेको देखिँदैन । त्यस्ता असंगतिहरूलाई दृष्टिगत गरी गोवर्द्धन पीठका शंकराचार्य तथा निश्चलानन्द सरस्वती जस्ता समकालीन वैदिक गुरुहरूले वैदिक साहित्यहरूमा उल्लेख गरिएको बुद्ध र बुद्धधर्मका शाक्यमुनि बुद्ध दुई भिन्न व्यक्तित्वहरू हुन् भन्ने कुरा स्वीकार गरेका छन् । केही समयअगाडि विपश्यनाचार्य सत्यनारायण गोयन्काले काँची कामकोटि पीठका शंकराचार्य जयन्द्र सरस्वतीलाई समेत यस विषयमा सहमत गराई विगतमा यस प्रकारको त्रुटि भएको हो भन्ने कुरा उल्लेख गरी एक संयुक्त प्रेस विज्ञप्ति जारी गराउनुभएको थियो । भगवान् बुद्धको विषयमा रहेका प्रमुख भ्रम वा अपव्याख्याहरू – “बुद्ध जन्मले पनि हिन्दू थिए र मर्दा पनि हिन्दू नै भएर मरे”

यहाँ उल्लेख गर्नुपर्ने कुरा के छ भने वैदिक परम्परामा श्रुति (विगतमा ऋषीमुनीहरूले सिधै सुनेका कुरा जसको कारण यसलार्इ अपौरुषेय भनिएको छ – जस्तै चार वेद) को तुलनामा स्मृति (कसैले बताएका कुरालार्इ ऋषीमुनीहरूले सम्झेर संग्रह भएका कुराहरू जसको कारण यसमा त्रुटि हुन सक्ने संभावना रहन्छ – जस्तै पुराण) ले त्यही स्तरको हैसियत नराख्ने गरेको देखिन्छ । त्यसैले वैदिक हिन्दू धर्मकै मान्यतानुसार पनि पुराणका कथनहरूलाई प्रश्न गर्ने वा खण्डन गर्ने गर्न सकिन्छ । कतिपय अवस्थाहरूमा पौराणिक कथा तथा तिनमा भएका उपदेशहरू आफैमा परस्पर बाझिएका पाइन्छन् । यीमध्ये यिनै पुराणहरूले अघि सारेको “बुद्ध विष्णुका अवतार हुन्” भन्ने कुरामै पनि यो लागू हुन्छ । स्वामी विवेकानन्दले भनेका छन् कि आधुनिक युगमा तथाकथित हिन्दू धर्मका अधिकांश कुराहरू पौराणिक साहित्यराशिबाटै निसृत हुन् ।

दशरथजातकमा उल्लेख भएका रामपण्डितको प्रसंगलार्इ लिएर पछिल्लो समयमा अवतारसम्बन्धी नै एउटा अर्को भ्रामक कुरा पनि प्रचारमा ल्याइएको छ । ‘जातक कथा’ भगवान् बुद्धले आफूले अघिल्लो जुनीमा सम्यकसम्बुद्ध हुनका लागि गरेको बोधिसत्त्व चर्याका संबन्धमा उहाँले नै देशना गरेका कथाहरू हुन् । पाली स्रोतअनुसार यस जातकमा बुद्ध त्यस जन्ममा “रामपण्डित”को रूपमा जन्मिनुभएको थियो र उहाँले त्यस जन्ममा नैष्क्रम्य पारमिता पूरा गर्नुभएको थियो । सम्यक्संबुद्धत्व प्राप्त गर्न यो एक अनिवार्य अभ्यास हो जुन बुद्धोपदशसँग मेल खान्छ । तर, यस जातकका पात्रहरूको नाम र घटनाक्रम वाल्मीकि रामायणजस्ता पछिका वैदिक साहित्यहरूसँग मिल्न गएकै कारणले यो जातक कथाको प्राय: अपव्याख्या हुने गरेको छ । वाल्मीकि त्रेतायुगका हुन् भन्ने हिन्दू मान्यताबाहेक वाल्मीकि रामायण जातक कथाभन्दा अघिको हो भन्नको लागि कुनै अर्को ऐतिहासिक प्रमाण छैन । यस जातक कथामा रामपण्डित, लक्ष्मण र सीता सहोदर दाजु, भाइ र बहिनी हुन् । त्यसमा रावणजस्तो पात्र नै थिएन र सीताको हरणजस्तो घटना पनि भएको थिएन । वास्तवमा वैदिक हिन्दू रामायणको कथा यही जातक कथाबाट लिइएको हुन सक्छ जसमा रामपण्डितमा भएको त्याग र सदाचारको उल्लेख छ । यदि रामपण्डितलाई नै विष्णु मान्ने हो भने त्यसबाट केही अवाञ्छित व्याख्याहरू निस्कन सक्छन् –

क)    विष्णु भनेको जन्म र मृत्युको चक्रमा नै रहेका एक साधारण मनुष्य हुन् जस्तो सो जातकमा रामपण्डित थियो ।

ख)  अथवा, विष्णु भनेका बुद्धधर्मको महायान अभ्यासमा रहेका एक बोधिसत्त्व हुन् । यहाँ वैदिक साहित्यमा उल्लेख गरिए झैँ  ‘सृष्टिकर्ता’ वा ‘संसारको पालनहार’ को रूपमा दिइएको उनको परिचय असत्य हुन पुग्नेछ ।

तसर्थ यी अवतारका मिथकहरूको कुनै तार्किक आधार छैन । भगवान् बुद्धले आफू इक्ष्वाकुवंशी भएको उल्लेख गर्नुभएको छ भने वैदिक राम पनि त्यही वंशका थिए भन्ने कुरा मानिन्छ । मानिसहरूलाई शासन गर्ने प्रथम मानवको अवधारणा बुद्धसँग कसरी मेल खाँदैन भन्ने कुरा “अगन्नसुत्त”को आधार लिर्इ माथि नै चर्चा भइसकेको छ । भगवान् बुद्धको विषयमा रहेका प्रमुख भ्रम वा अपव्याख्याहरू – “बुद्ध जन्मले पनि हिन्दू थिए र मर्दा पनि हिन्दू नै भएर मरे”

पुराणहरूमा पाइने ‘अवतार’ को अवधारणा वास्तवमा भगवान् बुद्धको जातक कथाकै नक्कल हुन सक्ने सम्भावना देखिन्छ, जुन प्रचलित हिन्दू मान्यताको सिधै विपरीत हुन पुग्छ । यसबाहेक रामायणका केही संस्करणमा ‘अयोध्याकाण्ड’ प्रकरणको एउटा श्लोकमा तथागत (बुद्ध) लाई चोर भनेर आरोप लगाइएको पाइन्छ । यसबाटै पनि वाल्मीकि रामायण बुद्धकालभन्दा पछि रचना भएको हो भन्ने स्पष्ट देखिन्छ । रामायणका विविध संस्करण र पञ्जिकाहरूमा गहन अध्ययन गरेका धेरैजसो आधुनिक अध्येताहरूले वाल्मीकि रामायण बुद्धकालभन्दा धेरै पछि मात्र रचना भएको कुरा स्वीकार गर्छन् ।

वैदिक हिन्दूधर्ममा भगवान् बुद्धप्रति श्रद्धा व्यक्त गर्ने न कुनै साधना वा अभ्यास छ, न त उनीहरूका परम्परागत साहित्यराशिमा बौद्ध साहित्यलाई समावेश नै गरिएको छ । बौद्धहरूले पनि कुनै पनि वैदिक हिन्दू साहित्यलाई आफ्नो कुनै पनि औपचारिक ग्रन्थकोशमा समावेश गरेका छैनन् । वैदिक हिन्दू पण्डित तथा अध्येताहरूलाई भगवान् बुद्धको अनुसरण गर्नबाट निरुत्साहित गर्ने गरिन्छ । वेद नमान्ने असुरहरूलाई थप दिग्भ्रमित पार्न विष्णुले आफ्नो एक निकृष्ट मोहमाया स्वरूपमा बुद्धको अवतार लिएका थिए भन्ने पौराणिक चित्रण नै यसको कारण हो । भारतवर्षमा वेदको सत्तालाई अस्वीकार गर्नमा बौद्धहरूकै मुख्य भूमिका थियो भन्ने कुरा हामीलाई थाहा छ । यसैले यस्ता हौवा बौद्धहरूतिरै लक्षित गरिएको हुन सक्छ  । माधवाचार्यरचित शंकरदिग्विजय जस्तो आदिशंकरको जीवनीबाट यो कुरा अझ प्रष्ट हुन्छ जसमा वेदको सत्तालाई अस्वीकार गरेकै कारणले आदिशंकर, उनका अनुयायी र राजा सुधन्वाबाट बौद्धहरूले भौतिक उत्पीडन भोग्नुपरेको थियो । बुद्धलाई विष्णुको नवौँ अवतार मात्र भन्नुबाहेक वैदिक हिन्दू परम्पराका विद्वानहरूले कुनै पनि बौद्ध साहित्यलाई प्रमाणस्वरूप कहिल्यै उद्धृत गरेनन् । त्यसैगरी वैदिक हिन्दू साहित्यको खण्डन गर्न वा आफ्नै सिद्धान्तहरू पढाउने क्रममा टिप्पणीस्वरूप उल्लेख गर्नबाहेक भगवान् बुद्ध तथा बौद्ध लेखकहरूले पनि कुनै पनि वैदिक हिन्दू साहित्यलाई कहिल्यै उद्धृत गरेको पाइँदैन ।

त्यसैले भगवान् बुद्धलाई विष्णुको अवतार मान्ने कुराको कुनै तर्कसंगत आधार छैन ।

प्रतिक्रिया दिनुहोस्

पछिल्ला आलेख

वर्गहरु

शीर्ष आलेख

बुद्धको विषयमा रहेका प्रमुख भ्रम वा अपव्याख्याहरु

साताको विचार

मुख्य आलेख

भिडियोहरू

बुद्ध धर्म

मिजिन कुरुम

लेखकहरु

Admin