यसो भन्ने आधुनिक विश्वमा दुई विशिष्ट व्यक्तित्त्वहरू हुन्– भारतका पूर्व राष्ट्रपति स्व. एस् राधाकृष्णन र प्रख्यात हिन्दू गुरु स्वामी विवेकानन्द । यी दुई व्यक्तित्वहरू कुनै शुद्धसिद्ध अटुट बौद्ध परम्परासँग नजोडिएको हुनाले उनीहरूको यो विचार बौद्ध ग्रन्थ वा भारतवर्षमा चलेको व्याख्यान परम्परामा आधारित नरहेको कुरामा कुनै आश्चर्य मान्नु नपर्ला । तथापि उनीहरूको विचार आदि शंकर जस्ता वेदान्तका प्राचीन गुरुहरूको विचारसँग पनि मेल नखानुलार्इ भने आश्चर्यको विषय मान्न सकिन्छ जसले भगवान् बुद्धलाई “उल्टो उपदेशहरू दिने हुनाले विश्वासयोग्य छैनन्” भनेर टिप्पणी गरेका थिए (ब्रह्मसूत्रको टीका २.२.३२) ।
भगवान् बुद्धको कालमा अस्तित्वमा रहेका उपनिषद्हरुको विषयमा अध्येताहरूको वृत्तमा हालसम्म पनि आम सहमति पाइँदैन । केही उपनिषद्हरु उहाँको कालभन्दा अगाडिदेखि नै अस्तित्वमा रहेका हुन सक्छन् । तथापि भगवान् बुद्धले आफ्ना कुनै पनि देशनामा ‘उपनिषद्’ को नाम लिनुभएको पाइँदैन न त उहाँले ‘सांख्य’ को नाम नै लिनुभएको पाइन्छ जसलाई षड्दर्शनमध्येको सबभन्दा पुरानो दर्शन मानिन्छ । तथापि आफ्ना देशनाहरूमा उहाँले त्यस्ता वैदिक ग्रन्थ वा विचारधाराहरूको नाम नलिईकनै तिनीहरूमा रहेका सैद्धान्तिक विषयहरूलाई अस्वीकार र तिनीहरूको खण्डन गरेको पाइन्छ ।
अर्कोतिर बौद्ध सूत्र/सुत्तहरूमा बुद्धसँग शास्त्रार्थ गर्न आएका केही विख्यात ब्राह्मण गुरुहरूको विषयमा यस्तो शब्दावली प्रयोग भएको पाइन्छ: “उनीहरू तीन वेद र तिनको निरुक्त, कल्प, ध्वनिविज्ञान, व्युत्पत्ति विज्ञान तथा इतिहासहरूमा पारंगत, भाषाविज्ञान तथा व्याकरणमा दक्ष, ज्योतिष र महामानवका लक्षणहरूको विषयमा निपूण” छन् । त्यसैले यस सन्दर्भबाट भगवान् बुद्धको कालमा वा उहाँले आफ्नो जीवनकाल व्यतीत गरेको क्षेत्रमा तीन वेद, संभवत: ऋग्, साम् र अथर्व अस्तित्वमा थिए भन्ने कुरा निश्चित रूपमा बुझ्न सकिन्छ । बौद्ध सूत्र/सुत्तहरूमा उल्लिखित वैदिक ब्राह्मणहरूसँग भएको त्यस्तो शास्त्रार्थबाट हामीले तीन मुख्य कुराहरू बुझ्न सक्छौँ :
१) भगवान् बुद्धसँग संवाद गर्न, सिक्न वा शास्त्रार्थ गर्न आएका विद्वान वैदिक ब्राह्मणहरूसँग कुराकानी गर्दा उहाँले वैदिक अभ्यास तथा सिद्धान्तहरूलाई यथारूप उद्धृत गर्नुभएको देखेर उनीहरू छक्क पर्थे । त्यसबाहेक भगवान् बुद्धले उनीहरूको सैद्धान्तिक हैसियत तथा अभ्यासहरूको खण्डन गरी तिनीहरूमा भएका नैसर्गिक त्रुटिहरूलाई औँल्याउनुहुन्थ्यो जसले गर्दा उनीहरू अन्ततः बुद्धको प्रणालीलाई सकार्न पुग्थे र बुद्धमा शरण लिन्थे । बुद्धकालीन संघमा हजारौँ त्यस्ता ब्राह्मणहरू थिए जो अन्ततः बुद्धका शिष्य बन्न पुगेका थिए । यदि भगवान् बुद्धले उनीहरूले जानेको वा अंगीकार गरेको कुरा नै सिकाएको भए उनीहरू आफ्नो प्रणालीलाई चटक्क छोडेर बुद्धको प्रणालीमा आउने थिएनन् ।
२) धेरैजसो बौद्ध सूत्र/सुत्तहरूमा वैदिक ब्राह्मणहरूले भगवान् बुद्ध तथा उहाँका शिष्यहरूप्रति द्वेष राख्ने र उनीहरूको अपमान र निन्दा गर्ने गरेको उल्लेख छ । उनीहरू भगवान् बुद्धलाई अनादरपूर्वक ‘मथमुण्डा’, ‘हीन’, ‘नीच’, ‘जातिच्यूत’ आदिजस्ता उपमा दिन्थे । उहाँको शिक्षालाई स्वीकार गरी बुद्धको शरणमा आएका ब्राह्मणहरूलाई अन्य ब्राह्मणहरूले उपेक्षाको दृष्टिले हेर्ने हुँदा उनीहरू भगवान् बुद्धलाई ती विषयहरुमा गुनासो गर्थे । यदि भगवान् बुद्धले वेद वा उपनिषद्मा लेखिएका कुराहरू नै पढाएको भए यस्तो अवस्था कदापि आउने थिएन ।
३) भगवान् बुद्धको शिक्षा उपनिषद्को वा वैदिक सैद्धान्तिक अवधारणाको ठिक विपरीत रहेको छ । ब्रह्मजाल सुत्त, तिलक्खण सुत्त, अनत्तलक्खण सुत्त आदिजस्ता अनेकौं सूत्र/सुत्तहरूमा उपनिषद्हरूले कूटस्थ र नित्य भनी बताएको ‘आत्मा’ वा ‘ब्रह्म’ जस्तो अवधारणालाई सर्वथा अस्वीकार गर्नुभएको छ जसलार्इ यी उपनिषद्हरूले अस्तित्वको परमसत्य मानेका छन् । पञ्चत्रयसूत्र (पञ्चत्तयसुत्त) मा उहाँले सांख्य र न्याय-वैशेषिक दर्शनलाई संकेत गर्नुभएको देखिन्छ । भगवान् बुद्धले यो कूटस्थ र नित्य बताइएको कुरालाई ‘संज्ञीआत्मा’ र ‘असंज्ञीआत्मा’ गरी दुई प्रकारमा बाँड्दै दुवैको अवधारणालाई पूर्णत: अस्वीकार गर्नुभएको छ । यहाँ द्रष्टव्य के छ भने सांख्य दर्शनको ‘पुरुष’ सचेत कुरा हो भने न्याय दर्शनको ‘आत्मा’ अचेत/जड कुरा हो । अनित्य र अनात्म लक्षणले युक्त पञ्चस्कन्ध (रूप, वेदना, संज्ञा, संस्कार र विज्ञान) बाहेक ब्रह्माण्डमा त्यसभन्दा पर र त्यसभन्दा माथिको कुनै पनि कुरालाई भगवान् बुद्धले स्वीकार गर्नुभएको छैन । यी प्रत्यक्ष वा परोक्ष खण्डन बाहेक बुद्धोपदेशित “प्रतीत्यसमुत्पादको” सिद्धान्तबाट पनि त्यस्तो कूटस्थ र नित्य कुराको अस्तित्त्व संभव छैन भन्ने नै पुष्टि हुन्छ ।
त्यसैले भारतका पूर्व राष्ट्रपति एस्. राधाकृष्णन र स्वामी विवेकानन्दको “बुद्धले आफ्नो जीवनकालमा अरू केही नभई वेदान्त नै सिकाएका हुन्” भन्ने भनाइ भ्रामक मात्र नभई बुद्धवचनको अपव्याख्या नै हो ।